Banner First

ओली र देउवामा प्रधानमन्त्रीको बाजी कसले मार्ला ?

By Thah Online

May 21, 2021

काठमाडौं । राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दुई पक्षले दावी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सरकारका लागि दावी गर्दै १५३ सांसदको हस्ताक्षर पेश गरेका छन् भने काँग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका छन् ।

प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये चार सिट खाली छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसदलाई कारवाही गरेपछि ती चार सिट रिक्त रहेको हो । अन्य चार सांसद निलम्बनमा छन् ।

निलम्बित सांसदलाई समेत गणना गर्ने हो भने पनि प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । तर ओली र देउवाले हस्ताक्षर बुझाएको संख्यालाई आधार मान्ने हो भने कुल सांसद संख्या ३०२ पुग्छ ।

केही सांसद दुवै पक्षले आफ्नोतर्फ गणना गरेका कारण यो अवस्था देखिएको छ । ओलीले एमालेका १२१ सांसदकै समर्थन गणना गरेका छन् भने उक्त पार्टीका माधवकुमार नेपालसहितका नेताहरु देउवाको साथ लागेर शीतल निवास पुगेका छन् ।

अर्कोतिर जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईहरु पनि दुवै तिर गणना भएका छन् । ओलीले जसपाका ३२ सांसदको समर्थन आफ्नो पक्षमा रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् भने सोही पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता देउवाको साथ लागेर शीतल निवास पुगेका छन् ।

शीतल निवास स्रोतका अनुसार एमाले संसदीय दलको नेताका हैसियतले ओलीले आफ्ना १२१ सांसदकै समर्थन रहेको दावी गर्नु स्वाभाविक हो । अर्कोतिर जसपाका संसदीय दलका नेता एवं अध्यक्षले नै आफ्ना ३२ सांसदको समर्थन ओलीको पक्षमा जनाइसकेको अवस्थामा पार्टीका आधिकारिक व्यक्तिले जनाएको प्रतिबद्धतामा शंका गर्नुपर्ने आधार नरहेको स्रोत बताउँछ । ‘यद्यपि यसबारे अन्तिम निर्णय राष्ट्रपतिज्यूले नै गर्ने भएकाले हामीले यसबारे धेरै टिप्पणी गर्न उचित हुँदैन,’ स्रोतले भन्यो ।

काठमाडौं । नेकपा एमालेका सांसद जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सांसदको सूचीमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्र पठाएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले आफू एमालेको सांसद रहेको र आफ्नो अध्यक्षको विरुद्धका विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको उनले पत्रमा उल्लेख गरेका छन् । माधव नेपाल पक्षका राई वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन भने अनुपस्थित रहेका थिए । पहिलेकै हस्ताक्षर दुरुपयोग भएको उनले बताएका छन्