रोग भन्दा भोकले मर्ने डरले भारततिरै फर्किंदै नेपाली



कञ्चनपुर । भारतमा कोरोना फैलिएपछि एक महिना पहिले मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्किएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार फेरि परिवारसहित भारततिर गए ।

महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्किएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाउँछन् । “घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँच्न गाह्रो भो त्यसैले बरु रोग लागेर मरे मरिएला तर भोकबाट त बचौँ भन्ने लागेर भारतको बैङ्गलोर जान लागेको हो”, श्यामकुमारले भने ।

यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था रहेकाले जान लागेको श्यामकुमारकी श्रीमतीले गुनासो गरिन् । हातमा दुधे बालक च्यापेकी उनले यहाँ बसे रोगभन्दा पनि भोकले मर्नुपर्ने अवस्था आयो त्यसैले फर्किन लागेको बताए ।

महामारीबाट बच्न घर फर्किएका आफूहरू महामारीकै बीचमा फेरि पनि भारत फर्कनुको कारण भोककै पीडा भएको भारतको पञ्जाब जानका लागि गौरिफन्टा नाकामा भेटिएका हर्क लामाले गुनासो गरे । भारतमा कोरोना महामारी डरलाग्दो गरी फैलिएपछि एक महिना पहिले नेपाल फर्किएका लामाले स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुन थालेपछि पुनः भारत जान बाध्य भएको बताए । “रोगको डरले भारतबाट नेपाल आए, तर फेरि भोकको डरले भारत नै फर्कंदैछु”, लामाले निन्याउरो अनुहार लगाउँदै दुखेसो पोखे ।

घरमा खानलाउनकै समस्या भएपछि श्यामलाल र हर्कजस्तै भोकले सताएको कारण भारतबाट आएको दुई महिनामै फेरि फर्कन लागेका कैलालीका मोहन विक पनि कमाउने कुनै बाटो नभएकाले उतै जान लागेको बताउँछन् । भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् ।

भारतमा स्थिति भयावह हुँदा नेपाल फर्किएकाहरु बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् । कैलालीमा निषेधाज्ञा जारी छ तर यसैबीच गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली भारत पलायन भइसकेका छन् । अहिले सीमामा नेपाली नागरिकलाई भारत जान रोक छैन भने भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्