प्रदेश ३ को प्रदेशसभा पहिलो बैठक आज



सैघाली खबर
काठमाडौं,१८ माघ

देश संघीय संरचनामा गइसकेपछि आज पहिलो पटक प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा आज बस्न लागेको हो । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ ।

बैठक दिउँसो १ बजेबाट हेटौंडाको सभागृहमा सुरु हुने प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो ।पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाह गर्नुहुनेछ । यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसक्नुभएका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।

बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनुहुनेछ । हिजो साँझ ३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बैठक बसी उक्त कार्यसूची तय गरिएको हो ।

आजका पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित भएपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुने जनाइएको छ । अन्तरिम कार्यविधि भित्र बैठक सञ्चालन, सभामुखको काम, कर्तव्य र अधिकार, संसद् बैठकलाई व्यवस्थित रूपमा सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समिति गठन गर्ने, प्रदेशसभा सदस्यको आचारसंहिता लगायत विषय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पहिलो प्रदेशसभा बैठक भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका एक÷एक जना नेतालाई बोल्न दिनेसमेत कार्यसूची रहेको बताइएको छ । आजको बैठकमा सभामुख चयनको प्रस्ताव पेस गरेपछि ज्येष्ठ सदस्य पौडेलले माघ २९ गते सभामुख चयन गर्ने तिथि बैठकबाट तोक्नुहुनेछ । प्रदेशसभाका कूल १ सय १० जना सदस्यका लागि बस्ने स्थान निर्धारण गरिएको, दर्शक ५० जना र सञ्चारकर्मीको लागि २५ स्थान छुट्टाइएको संसद् सचिवलायले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्