संसदीय दल बैठक अन्योल



प्रदेश १

विराटनगर — संविधान अनुसार प्रदेश १ मा फागुन ८ गतेभित्र मन्त्रिमण्डल गठन भइसक्नुपर्छ तर दलहरूले अझैसम्म संसदीय दलको बैठकसमेत राख्न सकेका छैनन् ।

सरकार गठन गर्नुपर्ने एमाले नेताहरू मुख्यमन्त्रीको दौडमा काठमाडौंमा छन् । उनीहरू नआउँदा प्रादेशिक राजधानीमा खासै राजनीतिक चहलपहल हुन सकेको छैन । शपथ खाएर जिल्ला फर्केका प्रदेश सदस्यहरू संसदीय दलको बैठक नबस्दा अन्योलमा छन् ।
प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले माघ २२ गते सोमबारलाई पहिलो अधिवेशन बोलाएका छन् । अधिकांश सदस्य आइतबार आउने तयारी गरिरहेको बताउँछन् । प्रदेशसभा सदस्यहरू निर्वाचित घोषणा भएको ३५ दिनभित्र प्रदेश सरकार गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । माघ ३ गते सदस्यहरूको अन्तिम परिणाम घोषणा भएको थियो ।
प्रदेश १ मा पर्ने १४ जिल्लाका प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ गरी ९३ सिट संख्या छ । यो प्रदेशमा एमालेको ५१, माओवादी केन्द्र १५, कांग्रेस २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्चको १ सिट छ । यहाँ सरकार गठनका लागि एमाले एक्लैको सहज बहुमत छ ।
माओवादी केन्द्रसमेतजोड्दा वाम गठबन्धनको प्रस्ट दुईतिहाइ पुग्छ । एमालेको संसदीय दलको बैठक कहिले बस्ने भन्नेमै अन्योल छ । प्रमुख प्रतिपक्षी कांग्रेसको त झन् प्रादेशिक संरचनाअनुसारको संगठनै बनिसकेको छैन । ‘संसदीय दल बैठक खै कहिले बस्छ, केही जानकारी आएको छैन,’ मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बूले भने, ‘प्रदेश समिति नभएकाले राजधानी भएको हैसियतले मोरङले नै गर्नुपर्ला । २४ गतेको राष्ट्रिय सभाको मतदान सकिएपछि समन्वय अघि बढाउँछु ।’ कांग्रेसमा प्रतिपक्षी दलको नेता बन्न तीनजना भन्दा बढी आकांक्षी देखिएका छन् । त्यसमा सर्वसम्मत हुन सक्ने सम्भावना कम छ ।
एमालेका प्रदेश सहइन्चार्ज शेरधन राई राष्ट्रिय सभाको निर्वाचनले केही ढिलो भएजस्तो मात्र भएको बताउँछन् । मुख्यमन्त्रीमा एमालेका तीनजना आकांक्षी छन्– एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य तथा प्रदेशका सहइन्चार्ज राई र केन्द्रीय सदस्य जीवन घिमिरे । उनीहरू तीनैजना अहिले काठमाडौंमा छन् । ‘तीन दिनपछि विराटनगर आउँछु,’ सहइन्चार्ज राईले भने, ‘२६–२७ तिर संसदीय दलको बैठक बस्ने तयारीमा छौं ।’ त्यही बैठकले दलको नेता छान्नेछ ।
मंगलबार काठमाडौंमा बसेको एमाले स्थायी समिति बैठकले आफ्नो भागमा परेका प्रदेशहरूमा सर्वसम्मत मुख्यमन्त्री छान्न नसकेपछि संसदीय दलमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने निर्णय गरेको छ ।
केन्द्रको निर्णयसँगै आकांक्षीहरू मतदातालाईआफ्नो पक्षमा पार्न लागिपरेका छन् । यो प्रदेशमा एमालेले मुख्यमन्त्री र सभामुख पाउने भएको छ । माओवादी केन्द्र भने एमालेको संसदीय दलको बैठकपछि मात्र बोलाउने मनस्थितिमा छ ।
केन्द्रमा संसदीय दलको नेताका लागि टंक आङबुहाङ र इन्द्र आङबोको नाम चर्चामा छ । प्रमुख प्रतिपक्षी दलको नेताका लागि सुनसरी कांग्रेस सभापति राजीव कोइराला, उदयपुर पार्टी सभापति हिमाल कार्की, मोरङका केदार कार्कीको नाम चर्चामा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्