प्रतिनिधिसभा पुनः स्थापनाका लागि कानूनमा पर्याप्त ठाउँ छ: भीमार्जुन आचार्य



काठमाडौँ। संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधिसभा पुनः स्थापनाका लागि कानुनमा पर्याप्त ठाउँ रहेको बताएका छन्। बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको संविधानविद् र कानुनी विज्ञहरूसँग छलफलको क्रममा आचार्यले अदालत आफ्नो पुरानो फैसलामा अडिग हुनुपर्ने उल्लेख गरे।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेल रोक्न नसकेको भन्दै प्रतिनिधि सभाप्रति ‘गुनासो’ व्यक्त गरे। थुप्रै अवसर हुँदा पनि प्रतिनिधिसभाले राष्ट्रपति र प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चन गरेको षड्यन्त्रलाई रोक्न नसकेको आचार्यको भनाई छ।

‘सभामुखले जानकारीमा लिन आवश्यक छ, जम्मै खेलहरू अहिले हेर्दाखेरि एउटा ठुलो तिकडम, जालझेल र षड्यन्त्र राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको छ। उहाँहरूले योजनाबद्ध ढङ्गले संविधानलाई कुल्चने, संविधानलाई नमान्ने, कामहरू गर्नुभयो,’ उनले भने, ‘तर, ती तिकडम र जालझेललाई सांसदले रोक्न सक्ने, प्रतिनिधि सभाले रोक्न सक्ने, प्रतिपक्षले रोक्न सक्ने पर्याप्त ठाउँ र सुविधा हुँदा खेरी पनि यो संस्थाबाट त्यो कामहरू भएन भन्ने मेरो गुनासो छ।’

आचार्यले प्रतिनिधिसभाको दोस्रो पटकको विघटन मान्छे मारेको भन्दा ठुलो अपराध भएको टिप्पणी पनि गरे। प्रधानमन्त्री ओली संसद्को सबै धाराअनुसार प्रधानमन्त्री बनेको पनि उनले बताए। ‘पहिलो पटक यस्तो प्रधानमन्त्री बने ओली, जो संसद्को एउटै कार्यकालमा संविधानका सबै धाराअनुसार बने, यस्तो कसरी हुन्छ ?’ उनले भने, ‘अल्पमतको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके मात्र ७६ (५) मा जाने हो, राजीनामा नगरी, पदमुक्त नभई फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर नियतमाथि खोट थियो।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्