सैघाली खबर,
बुटवल १९ माघ । प्रदेश ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना भएको छ । अन्य मन्त्रालयका कार्यालयहरु समेत शुक्रबार स्थापना गरिएको छ ।
जिल्लामा रहेका सरकारी भवन मध्येकै सबैभन्दा अग्लो र अत्याधुनिक मानिएको ६ तले श्रम कार्यालयको भवनमा ४ मन्त्रालय रहने भएका छन् ।
नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ भने शुक्रबार मात्रै मन्त्रालयको बोर्ड स्थापना टांगिएको छ ।
नेपाल बिद्युत प्राधिकरण र इलाका प्रहरी कार्यालय नजिकै रहेको सो भवनमा मुख्यमन्त्रीसहितका चार मन्त्रालय रहने भएका छन् । भर्खरै निर्माण सकिएको भवनको उद्घाटन भने भएको छैन ।
उक्त भवनकोे चौथो र पाँचौ तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बस्ने प्रमुख सचिव शंकर पाठकले बताए ।
प्रदेश ५ मा सात वटा मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएको छ । मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय छ तले भवनमा राख्ने योजना छ ।
पहिलो, दोस्रो र तेस्रो तलामा यी मन्त्रालय राखिनेछन् । सामाजिक विकास मन्त्रालय सीप विकास तालिम केन्द्रको भवन रामनगरमा रहनेछ भने भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ ।
कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालय हाटबजारमा रहनेछ । मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव, दुई सहसचिव सहित २१ जना कर्मचारी हुनेछन् ।तीन मन्त्रालय रहँने भवन ।
मन्त्रालय व्यवस्थापनका लागि केही सचिवहरु समेत बुटवल आइसकेका छन् । त्यस्तै मुख्यमन्त्री राजश्व अनुसन्धानको भवन बुटवलमा बस्नेछन् ।
सभामुख, छ जना मन्त्रीसहित केही कर्मचारीका लागि भैरहवास्थित भैलभुजको कार्यालयमा आवासको व्यवस्थापन गरिनेछ । आवासका लागि अन्य भवनहरु पनि प्रयोग हुन सक्नेछन् ।
प्रदेश प्रमुखको सचिवालय व्यापार संघमा राखिएको छ भने आवास सडक विभागको गेस्टहाउसमा छ । संसद सचिवालय र संसद भवन बुटवल उद्योग वाणिज्य संघको भवनमा छ ।
यता संसद सचिवालय र संसद भवन रहेको बुटवल उद्योग वाणिज्य संघलाइ चिटिक्क पारिएको छ । फर्निचर ब्यबस्थापन र रंगरोगन कार्य ३ दिनदेखि जारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।