सैघाली खबर
कैलाली , १९ माघ । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ। वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो।
उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए।‘अब दुईरतीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला,’ उनले भने।
यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित भएका थिए। बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो। प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४सांसद छन्।
प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ। त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली काँग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ।
डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताए। ‘पार्टीले सातवटै प्रदेशमा केन्द्रबाट नेता खटाएको छ,’ सांसद मल्लले भने, ‘छलफल गर्छौं र आवश्यताअनुसार निर्णय लिन्छौँ।’
प्रदेश नं ७ मा काँग्रेसबाट चार निर्वाचित र आठ समानुपातिक गरी १२ सांसद छन्। प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ। राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरू निर्णय लिन छलफल गर्ने बताए। ५३ जना सांसद रहेको प्रदेश नं ७ मा नेकपा ९एमाले० का २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन्।
एमालेभित्र पनि लबिङ
प्रदेश नं ७ मा वाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रलाई र सभामुख नेकपा ९एमाले०लाई दिने सहमति गरेसँगै प्रदेशसभामा बढी सांसद संख्या रहेको नेकपा ९एमाले० भित्र पनि सभामुख र संसदीय दलको नेताका लागि लबिङ हुन थालेको छ।
एमालेभित्र अहिले कञ्चनपुरबाट निर्वाचित सांसद तारालामा तामाङ, बाजुराबाट निर्वाचित प्रकाश शाह र कैलालीबाट निर्वाचित दीर्घ सोडरी संसदीय दलको नेताका लागि दाबेदार देखिएका छन्।
संसदीय दलको नेताका लागि आकांक्षी बाजुराका सांसद शाहले पार्टीको प्रदेश कमिटिको नेतृत्व सहमतीबाटै नेता छान्नेमा आफू आशावादी रहेको बताए। आफू वरिष्ठ नेता भएका शाहले संसदीय दलमा आफ्नो दाबी रहेको जानकारी दिए। ‘पार्टीको प्रदेश कमिटीको नेतृत्वले विधि, प्रक्रिया तोडेर जाँदैन भन्नेमा छु,’ उनले भने, ‘सर्वसम्मतको प्रयास पनि हुन्छ।’ एमालेभित्र डोटीका पूर्णा जोशी, डडेल्धुराका पठानसिंह बोहरा र बझाङका अर्जुन थापाको नाम पनि सभामुखको पदमा चर्चा छ ।
माघ २१ गते बिहान एमालेले संसदीय दलको बैठक बोलाएको छ। प्रदेश संयोजक भीम रावलको उपस्थिति रहने बैठकमा सभामुख, संसदीय दलको नेता र मन्त्रीहरूको छनोटको विषयले प्राथमिकता पाउनेछ।
माओवादीभित्र भने उपसभामुखमा बझाङबाट प्रदेशसभामा निर्वाचित देवकी मल्ल र डडेल्धुराबाट समानुपातिक सांसद कुन्ती जोशीको चर्चा हुन थालेको छ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ। सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।
माओवादीबाट उपसभामुखका आकांक्षी देवकी मल्लले आफूले उपसभामुखका लागि दाबी गरेको बताए। ‘मैले त मुख्यमन्त्रीकै लागि दाबी गरेकी थिएँ,’ उनले भने, ‘अरु साथीहरु देखेपछि उपसभामुख नभए मन्त्रीका लागि आकांक्षा राखेकी छु।’ उनले पार्टी र प्रदेश संसदीय दलको बैठकमा उक्त विषयमा छलफल हुने बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।