जेठ १८, काठमाडौँ । सरकारले उपचार बापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताललाई ७ दिनभित्र उपचार गर्दा लाग्ने रकमको मूल्य सूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।
कोरोना महामारीको समयमा बिरामीको उपचार बापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्यधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मङ्गलवार विज्ञप्ति जारी गर्दै उक्त विवरण वेबसाइट तथा सूचना पाटीमा राख्न भनेको हो । साथै उक्त विवरण इजाजत पत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।
कोरोना महामारीमा कतिपय अस्पतालले बिरामीको उपचार गरेबापत चर्को रकम लिएको, उपचारको लागि आवश्यक सामग्री बन्दोबस्त गर्न बिरामीका आफन्तलाई लगाएको, आवश्यकताभन्दा बढी औषधि खरिद गर्न लगाएको, अनावश्यक परीक्षण गर्न लगाएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।