यादव पक्षले जनतालाई धोका दिएको ठाकुर पक्षको आरोप



काठमाडौं । फुटको अन्तिमचरणमा पुगेको जसपामा आरोप प्रत्यारोप निकै चुलीमा पुगेको छ । यसैबीचमा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई व्यक्तिगत महत्वाकांक्षाको लागि राजनीतिक आवरणमा जनतालाई धोका दिने कार्य गरेको आरोप लगाएको छ ।

आज अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यादव सरकारमा रहँदा बनाउन नसकेको संविधान संशोधन कार्यदल बनेको बताएका छन् ।

“नागरिकता सन्दर्भमा संविधान जारी भएको मितिदेखि जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिकता पाइरहेका थिएनन् जसले गर्दा शिक्षा, रोजगारी लगायत राज्यबाट पाउने सुविधाबाट बञ्चित थिए, जसलाई अध्यादेश मार्फत् सम्बोधन गरिएको छ, संविधान संशोधनको सवालमा उपेन्द्र जीले बनाउन नसकेका संविधान संशोधन कार्यदल बनाइएको छ र छिटै यसले गर्दा परिणामहरु पनि देखिनेछ तथा अन्य पनि बाँकी रहेका मागहरु सम्बोधन गराउन पहल भैरहेको छ । तर आफूले जस नपाउने तुच्छ सोच र उधारो सहमति गरी भोलिका दिनमा सत्तालिप्साको अभिलासा पूरा गर्ने बाटो नै बन्द हुने देखेर आफ्नो व्यक्तिगत महत्वाकाक्षाको लागि राजनीतिक आवरण दिई फेरि जनतालाई धोका दिने कार्य शुरु गर्न खोजेका छन् । अहिले हामीले माग र मुद्दा सम्बोधन गराउँदा पनि न्वारन देखिको बल लगाई हाम्रो बारेमा भ्रम छर्न प्रयासरत छन् तर आम नागरिक यसबाट सचेत छन्,” विज्ञप्तिमा भनिएको छ ।

आफूहरू एकीकरणको भावनाप्रति प्रतिवद्ध रहेको पनि महन्थ पक्षको दाबी छ । त्यसैगरी प्रदेश नं २ मा समायोजित नभएका समितिबाट संघर्षको कार्यक्रम भनेर ज्येष्ठ १८ र १९ गते घोषणा भएको आन्दोलनको कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । कोरोनाको महामारिको बेला भ्रमपूर्ण, अघोषित र असान्दर्भिक कार्यक्रमा नलाग्न उनको आग्रह छ । जसपामा आजै उपेन्द्र पक्षले ठाकुरसहित ४ जनलाई पार्टीबाट निकालेको छ भने ठाकुर पक्षले यादवलाई पार्टीबाट निकालेको छ ।

महन्थ ठाकुर पक्षले जारी गरेको विज्ञप्तिः

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्