काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य, पूर्व खानेपानी मन्त्री बिना मगरले कोरोना सङ्क्रमणका कारण भइरहेको अक्सिजनको अभाव पूर्ति गर्नका लागि २० लाख रकम प्रदान गरेकी छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य रहेकी पूर्व खानेपानी मन्त्री मगरले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको सांसद कोषको रकमलाई रकमान्तर गरेर अक्सिजन आपूर्तिका लागि सहयोग गरेकी हुन्। उक्त रकम बेलौरी नगरपालिकामा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणसँगै सोही क्षेत्रमा आवश्यक अक्सिजन सिलिन्डर खरिदमा खर्च गरिने छ।
बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लाल झाडी गाउँपालिका र बेलडालडी गाउँपालिकाले बेलौरीमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेका छन्। चार वटा पालिकाहरूको यही योजनामा पूर्व मन्त्री मगरले सहयोग गर्ने भएकी हुन्। जिल्ला सदरमुकाम दक्षिणी भेगबाट टाढा पर्ने भएका कारण अक्सिजनको छिटो र सहज आपूर्तिका लागि प्लान्ट निर्माण गर्ने निर्णयमा पालिकाहरू पुगेका छ।
कोरोना सङ्क्रमणको महामारीका बेला जनताहरूलाई अक्सिजनको अभाव नहोस् भन्नका लागि अक्सिजन आपूर्तिका लागि सहयोग गरेको भन्दै पूर्व मन्त्री मगरले आवश्यकताअनुरूप थप सहयोग गर्ने बताएकी छन्। आफैँ कोरोना सङ्क्रमणको चपेटामा परेका कारण समयमै रकम पठाउन नसकिएको भन्दै स्वास्थ्य संस्थाहरूमा हुने स्वास्थ्य सामग्रीहरूको आपूर्तिका लागि समेत आफू लागि परेको बताइन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।