जसपामा एक अर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी, ठाकुर-महतो र त्रिपाठी नयाँ पार्टी गठनको तयारीमा



काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ। दुई अध्यक्ष रहेको जसपामा एक अर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी नै चलेको छ। अध्यक्ष महन्थ ठाकुरले मङ्गलवार अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन्। ठाकुरले यादवलाई कारबाही गर्नुअघि यादवले मङ्गलवार नै चार नेतालाई कारबाही गरेको पत्र सार्वजनिक गरेका छन्।

यादवले ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्य द्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्र नाथ शुक्ललाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन्। यादवनिकट नेता प्रकाश अधिकारीले पार्टी हित विपरीत कार्य गरेकाले विधानअनुसार अनुशासनको कारबाही गरिएको बताए। एक अर्कालाई कारबाही गर्दै दुवै समूहले त्यसबारे निर्वाचन आयोगलाई जानकारीसमेत गराएका छन्। यसअघि, दुवै समूहले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए।

पछिल्लो समय सरकारमा सहभागी हुने विषयलाई लिएर पनि पार्टीभित्र विवाद बढ्दै गएको छ। सरकार निर्माण विषयमा जसपा भित्र विवाद चर्किँदै गएपछि शीर्ष नेता दुई ध्रुवमा विभाजित भएका छन्। ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन्। तर, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र यादव समूह विपक्षी गठबन्धन बनाएर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन्। पार्टी विवाद चर्किँदै गएपछि एक अर्कालाई सोधिएको स्पष्टीकरणको जवाफ कसैले दिएनन्। सरकारमा सहभागी हुने विषयमा शीर्ष नेताको मत विभाजित रहेको छ। सोही कारण दुवै समूह आआफ्नो रणनीतिअनुसार अगाडि बढेपछि एक अर्कोलाई स्पष्टीकरण सोध्ने क्रम पनि सुरु भयो।

पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही गर्ने क्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा ठाकुर र महतो समूह छ। पार्टी निर्णय विपरीत देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गरेकोलगायत आरोप ठाकुर समूहले लगाउँदै आएको छ ।

तर, डा. भट्टराई, अध्यक्ष यादव समूह काँग्रेस सभापति देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडानमा छ। ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरङ्कुश भएकाले ओलीसँग सहकार्य नहुने निष्कर्ष यादव समूहको छ। सो समूहले पार्टीको निर्णय र नीति विपरीत प्रधानमन्त्री ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप ठाकुर समूहमाथि लगाउँदै आएको छ।

ठाकुर, महतो र त्रिपाठी भेटघाट

यसैबिच महन्थ ठाकुर, राजेन्द्र महतो र हृदयेश त्रिपाटीबिच भेटघाट भएको छ। मङ्गलवार सिंहदरबारमा तीन नेताबिच भेटघाट भएको जसपा स्रोतको दाबी छ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)  मा तीनै नेता रहेका थिए। तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए। अहिले उनी स्वास्थ्य मन्त्री छन्। स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल गरेका छन्। जसपा कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतो समूहले त्रिपाठीसँग मिलेर पुरानै जसपा ब्युँताउने विषयमा छलफल गरेका हुन्। राजधानी दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्