कविता
राज कुमार कार्की
यो देशमा थिए एक मात्र सन्त राजा रानी।
कुन पापीले मार्यो कठै यिनलाई जानिजानी।।
कसले मार्यो त्यो कालो मध्य रातमा गोली हानी?
के हेरेर बसेको थिए ती सेना जानिजानी?
कसम खायौ देश नसरेको रक्षा गर्छु भनी।
लायो कालो धब्बा इतिहासले सेनामा पनि।।
बन्यो आयोग पत्ता लाउन कसले मार्यो भनी
आयो प्रतिवेदन मार्यो भटट गोली हानी।।
प्रतिवेदन बन्यो मरे मारे दीपेन्द्र भनी।
के सक्छन् होला त मरेको लासले मार्न पनि?
कुन पापीले वंश नास गर्यो राजाको सब।
पक्कै सत्य तथ्य भन्ला नि इतिहासले अब।।
श्रद्धा सुमन छ है मृत राज परिवारलाई।
जन्म लिनु यही धर्तीमा फेरि सन्त राजा भै।।
हे धर्ती माता जन्माइ देऊ मात्रै एक राजा।
यो देशको सम्पत्तिले नपुग्ने भो अब आज।।
जन्माइ देऊ है मात्र एक राजा एक रानी।
कसरी धान्ला यो देशले हजारौँ राजारानी!
धान्दैन देशले सङ्घीयता कार्पेट र सारी।
जन्मिए हजारौँ राजारानी देशलाई भारी।।
बस्दैछन् ऐलेका राजा त्यो पर्दैन हीही भनी।
बसेका छन् जनता घर भित्र आफ्नो आयु गनी।।
धन्यवाद।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।