जसपा विवाद : व्यवहारिकरुपमा फुटिसक्यो तर दावी आआफ्नै



काठमाडौं । जसपा नेपाल व्यवहारिक रूपमा विभाजित भइसकेको छ । तर वैधानिक र राजनीतिक अभ्यासबाट भने पार्टीभित्रका दुवै पक्षले फुटको गृहकार्य गरिरहेका छन् ।

यो बीचमा पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराए । अर्का अध्यक्ष यादव पक्षले भने त्यसअघि नै ठाकुरसहित उनी पक्षीय चार नेतालाई कारबाही गरेर त्यसको सूचना निर्वाचन आयोगलाई दिइसकेका थिए । जवाफमा निर्वाचन आयोग दुवै पक्षले कानुनी प्रक्रिया पूरा नगरेको भन्दै विधि पुर्याएर आयोगमा आउन भनिसकेको छ ।

यस्तो बेला दुवै पक्षले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । ठाकुर पक्षले यादवले पार्टीका बैठक नगरी बैठक भएको भने प्रचार गरेको, सांसदहरूलाई कारबाही गरेको तथा संसदमा पार्टीको निर्णय विपरीत बोलको आरोप लागाएको छ । ठाकुर पक्षका नेता डा. सुरेन्द्र झा यादवको स्वेच्छाचारिताले हद नाघेपछि उनलाई कारबाही गरिएको गरिएको बताउँछन् ।

‘‘पार्टीमा छलफल नै नगरी सरिता गिरीजीलाई संघीय संसदबाट कारबाही गर्नुभयो । लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गर्नुभयो । सभामुखसँग सेटिङ गरेर, २७ वैशाखमा संसदमा बोल्नुभयो । त्यतिमात्र होइन प्रथम अध्यक्षलाई नै स्पष्टीकरण सोधिदिनुभयो,’’ झाले भने, ‘‘यहाँसम्म उहाँको स्वेच्छाचारिता बढेको छ । त्यसैले समस्या उहाँमा छ, सुध्रिन उहाँले नै जरुरी छ । वैकल्पिक शक्ति निर्माणको विपक्षमा उहाँ हुनुहुन्छ । नसुध्रीय उहाँलाई मात्र अलग गरेर अघि बढिन्छ ।’’

उता यादव पक्षले पनि ठाकुर पक्षमाथि उस्तै प्रकृतिका आरोप लगाएको छ । ‘‘पार्टी निर्णय विपरीत केपी ओलीलाई सहयोग पुग्नेगरी तटस्थ बसेर प्रतिगमनलाई सहयोग गर्नुभएको छ । पार्टी निर्णयबिनै कार्यदल बनाएर सरकारसँग वार्ता गर्न पठाउनु भएको र सहमति गर्नुभएको छ । पतिगामी केपी सरकारमा सहभागी हुन लाग्नुभएको छ,’’ यादव पक्षीय इस्तियाक राईले भने, ‘‘आफ्नो नेतृत्व वा राष्ट्रिय सहमति हुँदा मात्र सरकारमा जान्छौँ । नत्र प्रतिपक्षमै बस्छौँ भनेर ८ बुँदे सहमति गर्नुभएको छ । विज्ञप्ति जारी गर्नुभएको छ । तर, उहाँ १२ बजे राति चिया खाने बाहनामा समर्थन दिएर आउने, आफैँ प्रधानमन्त्री बन्ने परिस्थितिमा पनि नबन्ने अनि केपी ओलीइतरको राष्ट्रिय सहमतिको सरकार बन्न लाग्दा उहाँले सहयोग गर्नुभएको छ ।’’

उनले त्यहीबाट ठाकुरको नियत स्पष्ट भएको बताए । उनले जसपामा दुई अध्यक्षमा प्रथम र दोस्रो भन्ने नभएको पनि दाबी गरे । “विधानमा दुईवटा अध्यक्ष छ । को पहिलो को दोस्रो भन्ने नै छैन । विधानमा टिपेक्स लगाउन त सकिँदैन नि १ केपी ओलीलाई त रोकेर अदालतबाट फैसला भएको थियो, यहाँ त यस्तो नामको विवाद गरिदिने पनि कोही छैन ।’’ ठाकुर पक्षका नेता झा भने उपेन्द्र यादवले पनि आफूलाई पहिलो अध्यक्ष भन्न नसक्ने बताए । उनले इश्तियाकले आक्रोशमा बोलिरहेकोसमेत आरोप लगाए ।

‘‘इश्तियाक राईजी मेरो मित्र हो । उहाँ मधेसको आशालाग्दो नेता पनि हो । उहाँ उपेन्द्रजीसँग पार्टी फुटाएरै भएपनि केपी ओलीसँग मिलेर सरकारमा जान खोज्नुभएको थियो । त्यसलाई हामीले तात्कालीन परिस्थितिमा सफल हुन दिएनौँ । त्यसैले उहाँ आक्रोशमा हुनुहुन्छ । आज उहाँसँगकै साथीहरू मन्त्री बन्दै हुनुहुन्छ त्यसले उहाँलाई थप आक्रोशित बनाएको छ,’’ झाले भने, ‘‘तर, जसपा कसको नेतृत्वमा अघि बढिरहेको छ भन्ने कुरा विधान, बैठकका माइन्युट हेरे थाहा भइहाल्छ । कसको नाम एक नम्बरमा छ र को हो प्रथम अध्यक्ष हो भनेर ।‘‘

दुवै पक्षले पार्टीमा आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेका छन् । ठाकुर पक्षले संसदीय दल हुँदा संसदीय दलदेखि केन्द्रीय कार्यकारिणीसम्म आफू बहुमतमा भएको दाबी गरिरहेको छ भने यादव पक्षले आफूले बहुमतसहित बैठक समेत गरिसकेको दाबी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्