मानव समाज र व्यक्तिलाई बुझ्ने आदर्शवादी दृष्टिकोणभित्र यथास्थिति, जडता, निराशा र पूर्वाग्रही आदि सोचहरु सारतः गतिविहीन हुन्छन् । समाज र व्यक्तिको गति बुझ्नका लागि हामीसँग गतिशील दृष्टिकोण आवश्यक पर्दछ, जसले मात्र विगत र वर्तमानको भौतिकीलाई ठिक ढंगले बुझ्दछ ।
आजको नेपाली समाज लामो संघर्षबाट आएको हो । कमजोर र बलिया भुरेटाकुरे बीचको युद्धले नेपालको नक्सा तयार भएपछि आजको जुन अवस्था छ, यो पनि यथास्थितिमा नरहने कुरा हाम्रा अगाडी इतिहास साक्षी छ । पटकपटक नेपालमा विधि प्रक्रिया मिचेरै अगाडी बढ्ने शासकहरुको विशेषताबाटै अग्रगमन र प्रतिगमनको भिन्नता देखिने गरेको छ, यो नेपाली जनताले प्रष्ट अनुभव गरेका छन् । आज पनि नेपालको राजनीति अगाडी बढ्ने या पछाडी हटने बीचको जुन रक्तपातहीन संघर्ष उत्कर्षमा पुगेको छ । यदि यही अवस्था निरन्तरतामा अगाडी बढ्ने हो भने बलिदान एवं हतियारद्ध बन्ने कुरा पनि अस्वाभाविक नहुनसक्छ ।
हरेकपटक शासकको हठले सरकार ठीक ढंगले चल्न र चलाउनमा समस्याहरु आइरहे । नवऔपनिवेशिक देशहरुमा संसारभर विश्व व्यवस्थाले आफू प्रतिकूल राज्य व्यवस्था चल्न दिँदैन । यदि चल्न खोजे हरेक बहाना बनाएर दमन गर्दछ । त्यसको नमुना आज नेपालमा हाम्रो सरकारलाई लिन सकिन्छ । विरेन्द्रको वंश विनासको दिन र केहीदिन अगाडी मदनकुमार भण्डारीको हत्या गरिएको दिन हामीहरूले श्रद्धाञ्जली दियौं । यस्तै नेपालका कैयौं घटनाहरू सत्यतथ्य छानबिन नगरी सकिँदैछन् । भण्डारीकी श्रीमती राष्ट्रपति र उहाँले नयाँ दिशा दिएको भनिएको पार्टी सरकारमा रहँदा पनि हत्या छानबिनले प्राथमिकता पाउन सकेन ।
बरु यही समूह अहिले देश बर्बाद बनाउने बाटोमा लागेको छ । एकपछि अर्को प्रतिगामी हर्कतमा उद्धत भएको छ । संसारभर महामारी छ तर हामीकहाँ गलत राजनीतिको दाउपेच छ । यदि अदालतबाट प्रतिगमन दुई नसच्चिए देशले दुई मध्ये कुन बाटो पकड्नेछ । १.हामी प्रतिगमन सहितको चुनावमा लुसुक्क जाने २. विद्रोह गर्ने । विद्रोह भयो भने यही प्रतिगमन सुधार्न मात्र हो वा थप अगाडी बढ्न ?
आगामी विद्रोह नेपालमा शान्तिपूर्ण हुनेछ, जस्ले २१ औं शताब्दीको समाजवादलाई पछ्याउँदै जानेछ र त्यसमा बाधा आयो भने संघर्षको स्वरुप बदलिन सक्छ । परिवर्तित सन्दर्भमा आन्दोलनले बलिदानको माग गर्दछ । राज्य दमनमा आयो भने प्रतिरोधको बाटोबाट पनि समाजवादी राज्यमा पुग्न सकिनेछ ।
अग्रगामीहरूको पराजय भयो भने आजका उपलब्धि संविधान, गणतन्त्र, संघीयता र अन्य सबै उपलब्धिहरु गुम्नेछन । देशमा जनअधिकार समाप्त गरेर केपी ओली भन्दा पनि क्रूर शासक आउन सक्छन् । यो द्धन्दात्मक समिक्षा भयो भने आगामी दिनका लागि सही कार्यदिशा तय गर्न सकिने छ ।
हाम्रा अगाडी राणा, पञ्चायत र राजा फाल्न जति जटिलता थियो तर आजको दलाललाई फाल्न त्यति अप्ठ्यारो छैन । संसदमा हेर्दा शक्तिशाली पार्टीहरू संघर्षमा छन् । संसद बाहिर सबैजसो शक्तिहरू वैज्ञानिक समाजवादको पक्षमा नै छन् । यस्तो बेला अग्रगामी शक्तिहरुको तालमेल हुन सक्यो भने कसरी रहन्छ यो प्रतिक्रान्तिकारी सत्ता ?
हिजोको इतिहासले प्रमाणित गरिसकेको छ, राणा, पञ्चायत र राजा फाल्न असम्भव देख्नेहरू आज सरकारमा विराजमान छन् । नेपालमा धेरै बलिया र शक्तिशाली शासकहरुलाई परास्त गर्दै आजको अवस्था ल्याउने शक्ति हामीहरू नै हांै । हामी र हाम्रो अग्रगामी विचार रहँदासम्म सबै शासकहरुको पतन निश्चित छ ।
बबई ४, हापुरे दाङ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।