घोराहीमा परीक्षा शूल्क लिन नपाइने, असार मसान्त सम्म नतिजा सार्वजनिक गर्ने 



जेठ २०, घोराही ।  घोराही उपमहानगरपालिकाले यस वर्षको वार्षिक परीक्षाका लागि शुल्क नलिन सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । कोरोनाका कारण यस वर्ष विद्यालयमा भौतिकरुपमा उपस्थित भई परीक्षा सञ्चालन गर्न नसकिएका कारण निरन्तर मूल्याङ्कन, प्रथम त्रैमासिक र अर्ध वार्षिक परीक्षा एवं विद्यार्थी उपस्थितिको आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय भइसकेकाले परीक्षा शूल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको हो ।

नगर शिक्षा समितिको बैठकले नगर भित्रका सामुदायिक एवं संस्थागत सबै विद्यालयहरूलाई परीक्षा शूल्क लिन नदिने निर्णय गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कुुनै पनि विद्यालयलाई परीक्षा शुल्क नलिन निर्देशन गर्ने र लिइएको पाइएमा कारबाही हुन सक्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उप सचिव विनोद गौतमले जानकारी दिनुभएको छ ।

घोराही उपमहानगरपालिकाले कोरोना सङ्क्रमणका कारण यस वर्षको वार्षिक परीक्षा १ देखी ९ सम्मलाई निरन्तर मूल्याङ्कन, प्रथम त्रैमासिक र अर्ध वार्षिक परीक्षा एवं विद्यार्थी उपस्थितिको आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । सो अनुसार विद्यालयहरूले रिजल्टको तयारी गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्