कैलाली । कैलालीमा म्यूकोर्माइकोसिस अर्थात कालो ढुसी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया- ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको कालो ढुसी सङ्क्रमणबाट आज मृत्यु भएको हो ।
जेठ १७ देखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको शुक्रवार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिएका छन् । कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको पहिलो केस भएको उनले बताए ।
उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आयो । ‘उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थाल्यो । म्यूकर माइकोसिसको आशङ्कामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधवार कालो ढुसीको सङ्क्रमण पुष्टि भयो’ उनले भने ।
कालो ढुसीको सङ्क्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएको थियो । तर पनि उनलाई बचाउन नसकिएको डा. श्रीपाइलीले बताए ।
कालो ढुसी धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएको मानिसमा देखिने बताउँदै उनले शरीरको जुनसुकै अंगमा समेत असर गर्न सक्ने डा. श्रीपाइलीले बताए । यो रोगको सङ्क्रमण बढी जसो आँखा, फोक्सो, किड्नी तथा छालामा यसको सङ्क्रमण देखिएको उनले जनाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।