लागुऔषध र भरुवा बन्दुकसहित २ जना पक्राउ



जेठ २०, काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागु औषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन् । जितबहादुरको घरबाट गाँजाको धुलो र डम्बरबहादुरको घरबाट चरेसजस्तो देखिने पदार्थ, केही गाँजाको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाई छिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खोजतलास गर्दा उनीहरूबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनीहरूलाई लागु औषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरूलाई लागु औषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्