जेठ २०, काठमाडौँ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशसभा सचिवालयलाई आजैको मितिमा पत्र लेख्दै पार्टीको ह्विप उल्लङ्घन गरेका बागलुङ १ (ख)बाट विजयी सांसद कृष्ण थापालाई सोधिएको स्पष्टीकरण सन्तोषजनक नभएकाले उनलाई पदमुक्त गर्ने पार्टीको निर्णय भएको जनाउनु भएको छ ।
त्यसै गरी राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको बैठकले पनि नेता थापालाई पदमुक्त गर्ने निर्णय गरेको सचेतक पियारी थापाले प्रदेशसभा सचिवालयलाई सूचित गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव असफल पार्न सांसद थापाले निर्णायक भूमिका खेलेका थिए । यद्यपि पार्टीले भने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
राजमो केन्द्रीय समितिको पत्र
राजमो गण्डकी प्रदेश संसदीय दलको पत्र

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।