प्रस्तुत छ लेखक राजेन्द्र परियार र दिपकराज जोशी बिचको संवाद



राहुल गुप्ता

लेखक तपाई लामो समय अमेरिका बसेर नेपाल आउनुभएको छ । तपाईँको त पार्टीमा कुनै योगदान छैन भन्छन् नि तपाई कसरी राजनीतिमा आउनुहुन्छ ?

दीपकराज जोशी: तपाईँले सोध्नुभएको प्रश्न जायज छ। किनकि एउटा पत्रकारले जनताका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्नुपर्ने हुन्छ।पार्टीमा काम नगरेको र योगदान नभएकाले टिकट किन पाउने भनेर प्रश्न गर्ने पनि छन् यहाँ । कुनै वेला विपक्षी पार्टीसँग २० हजार  फरक मतले जितेको नेपाली काँग्रेस अहिले आएर चुनाव हारेर टोलाएर बस्नुपरेको छ। यसरी बस्नेहरूले न त पार्टीलाई न त समाजलाई नै योगदान दिन सक्छन्।  राजनीतिक नियुक्ति कुनै पद  वा जागिर होइन । मानवीय भावनाको आधारमा पद बाँड्न थालियो भने तपाइँदा सन्ततिले तपाईँलाई सराप्ने छन् । तपाईँ यस्तो व्यक्ति छान्नुहोस् जो सँग २१ औँ शताब्दीको नेतृत्व गर्ने क्षमता छ,र समाज प्रति बफादार छ ।

लेखक राजनीतिलाई कसरी व्याख्या गर्नुहुन्छ ?

दीपकराज जोशी: मेरो परिभाषामानिस्वार्थ रूपमा  देश र जनताको सेवामा खटिनु  नै राजनीति हो।राजनीतिका बारेमा ४ लाइन लेख्न नसक्ने , राजनीतिशास्त्रको ज्ञान नभएका, संसार कुन दिशा तर्फ गइरहेको छ र त्यसको असर कसरी पर्दापर्दै भन्ने थोरै पनि अड्कल गर्न नसक्नेलाई जागिर दिए जसरी पद दिनु भयो भने तपाइले तिरेको करको दुरुपयोग मात्र हुनेछ । समाजलाई सधैँ भरी काँग्रेस र कम्युनिस्टमा विभाजन गरेर कति समय सम्म जनतालाई अँध्यारोमा राख्ने ?आजको समाज र अबको पुस्तालाई राजनीति भन्दा माथि सोच्ने व्यक्तिको खाँचो छ । राजनैतिक पार्टी माध्यम मात्र हुन् । राजनैतिक पार्टीमा रहनेहरूमा जब सम्म मेरो पार्टी र मैले मात्र विकास गर्न सक्छु वा यो देश बनाउन सक्छु भन्ने भ्रम हुन्छ, तब सम्म यो समाज परिवर्तन हुँदैन र देश विकास हुँदैन।  विकास र समृद्धि सामूहिक कार्य हो । हाम्रो समाजमा आफू राम्रो हुन अरूलाई नराम्रो बनाउने,आफू जित्न अरूको खुट्टा तान्ने  प्रतिस्पर्धा नै छ । सच्चा मानेमा राजनीतिमा लाग्नेहरूले आफूले जित्न अरूलाई हराउनु पर्दैन । जनताको हित र जितमा रमाउन जान्नुपर्छ।

लेखक ः तपाई बुबाको सट्टामा राजनीति गर्दा नातावाद भएन र ?

परिवारका योग्य सदस्यहरू राजनीतिमा आउँदा वंशवादलाई नराम्रो भन्न मिल्दैन । त्यति बेला समाजलाई  नराम्रो हुन्छ, जति बेला योग्यता नभएका वंशका उत्तराधिकारीहरूलाई नै जनताले राजनीतिको मुकुट लगाएको हेर्न चाहन्छन् । यसको परिणाम जहिले पनि गैर राजनैतिक परिवारबाट आएका निर्दोषहरुले भोग्नुपर्छ । जो वंशवादवाला राजनैतिक परिवारले चलाएको राजनैतिक दलको झुटो नाराहरूको सिकार हुन्छन् र सधैँ उनीहरू वंशवादी नेताहरूको दयामा जिउन बाध्य हुन्छन् ।तर यदि परिवार भित्र बाटै कोही सक्षम व्यक्ति छ र जसले राजनैतिक विरासत धान्न सक्छ भने त्यसमा नातावाद कृपावाद भनेर विरोधकै लागि मात्र विरोध गर्न मिल्दैन।

लेखक जोशी विहीन तनहुँ काँग्रेस नचल्ने हो ?

दीपक हुन त कोही नभएर सम्पूर्ण कुराहरू बन्द हुन्छन् चल्दैन भन्नु मूर्खता सिवाय केही होइन। म अभ्यासमा विश्वास राख्ने मान्छे हुँ।तर पनि जोशी विहीन तनहुँ काँग्रेस बिग्रिँदै गएको जनता सामु सर्वविदितै छ । तनहुँमा राजनीति गर्नेले के गरे के गरिनन् पनि भनिरहनु पर्दैन होला । विकास त परै जाओस् आफ्नै पार्टीलाई  अगाडि पनि बनाउन सकेनन्।

जनताले के चाहन्छन् भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। यो प्रश्नको जवाफ जनताबाट नै आओस् भन्ने अपेक्षा राख्छु।

लेखक के राजनीति गर्न चाहीने गुणहरू तपाई सँग छ ?

दीपक हुन त राजनीतिमा आउनको निम्ति कुनै किसिमको दायराहरू निर्धारण गरिएका छन् जस्तो मलाई लाग्दैन। किनकि हामीले राजनितीलाइ यस्तो बनाइदियौँ कि जो सबैभन्दा खराब छ उसलाई राजनीतिमा ल्याउने र कालोलाई सेतो बनाउने,यो त भयो राजनितीको नकारात्मक पाटो। मेरो मतलब राजनीतिमा आउने सम्पूर्ण खराब हुन् भन्ने विल्कुलै होइन। सकारात्मक पाटो नै हेर्ने हो भने पनि म सँग  एउटा असल राजनीतिज्ञमा हुनुपर्ने सबै गुण छ जस्तो लाग्छ । राजनीतिमा  सबै  भन्दा  ठुलो  कुरा इमानदारीता हो । जो म सँग छ । मलाई  न केहि लिनु छ न केहि पाउनु  छ । म केवल दिन चाहान्छु ।

लेखक तपाई आफ्नो बारेमा बताउनुहोस ?

म दीपकराज जोशी,गोविन्दराज जोशीको छोरा मात्र नभएर देशको उन्नति र परिवर्तन चाहने युवा पनि हुँ।

म बुवा आमा सँग बस्छु । धूम्रपान गर्दिनँ । रक्सी पिउँदिन मांशाहार गर्दिनँ । जनावरबाट आएका कुनै पनि बस्तु   प्रयोग गर्दिनँ । म भिगानिजममा विश्वास गर्छु ।जसले गर्दा मलाई भौतिक वस्तुहरु प्रतिको मोह कम छ । । म हरेक हप्ताको मंगलबार  उपवास बस्छु । सूर्य उदाउनु भन्दा  अगाडी  उठ्छु ।हरेक  दिन १ –२ घण्टा  योग÷ प्राणायाम  गर्छु । सूर्य अस्त  हुनु अघि खाना खान्छु ।  म सबै प्रकारका ( भजन , रक, हेवी मेटल, पप, लोक, आधुनिक, अङ्ग्रेजी , हिन्दी , नेपाली, …) सङ्गीत सुन्छु । सबै प्रकारका  सिनेमाहरु हेर्छु , म डिस्को, पब, क्लब पनि  जान्छु । मैले  ट्याटु पनि खोपेको छु । म आधुनिक जीवन शैली बाट पनि टाढा छैन । यम जसमा पाँच सामाजिक नैतिकता  छन् । जस अन्तर्गत

१. अहिंसा ( शब्द, विचार र कार्यहरूको साथ कसैलाई चोट नपु¥याउनु,)

२.सत्य ( बिचारहरू मा सत्य र परम सत्यमा रहनु,)

३.अस्तेय(नचोर्नु, काम बोली वचन र विचारहरू मार्फत अर्काको सम्पत्ति चोर्ने मनसाय नराख्नु,)

४. ब्रह्मचर्य ( ब्राह्मणको ज्ञानमा चेतना स्थिर गर्दै र सबै इन्द्रियहरूलाई संयमित राख्नु,)

५. अपरिग्रह ( आफ्नो जीवनयापन गर्न चाहिने सामान्य भन्दा सामान्य वस्तु मात्र संग्रह नगर्ने, अनावश्यक रूपमा भौतिक बस्तुको सङ्ग्रह नगर्ने) जसलाई नेपालीमा अतिसूक्ष्मवाद भनिन्छ भने अङ्ग्रेजीमा मिनिमलाजिम  भनिन्छ । त्यस्तै नियमहरूको पालना गर्छु। जसमा पाँच व्यक्तिगत नैतिकता छन्।

१.  शौच( शरीर र दिमागको शुद्धीकरण,) २.सन्तोष (सन्तुष्ट र खुसी हुनु,)  ३.तप (आत्म–अनुशासित हुनु,)  ४.स्वाध्याय (आत्म अध्ययन, आफलाइ जान्नु, साथै वेद र अन्य शास्त्रहरूको  अध्ययन गर्नु, )  ५.ईश्वर–प्रणिधान (भगवानको पूर्ण भक्ति गर्नु )  लाई मैले आफ्नो  जीवनशैली बनाएको छु। न त म योगी हुँ,  न त तपस्वी नै । म त केवल यो देव ÷पुण्य भूमिमा बस्ने साधारण मान्छे हुँ। जो शास्त्रमा (जसले ज्ञान प्रवाह गर्दै हामीलाई अनुशासित  बनाउँदै  हाम्रो रक्षा गर्छ, जसले जीवनलाई सही मार्ग निर्देशन  गर्छ ,) लेखेको  कुराको अभ्यास  गर्दै आफ्नो जीवनलाई  खुसी  साथ अगाडी  बढाइरहेको यो देशको असल नागरिक हुँ।

लेखक अन्तमा तपाई जोशीकै छोरा भएर त राजनीतिमा आउन लाग्नु भएको त हैन् ?

यदि जोशीको छोरा नभएको भए पनि राजनीति गर्न सक्ने र समाजलाई अहिलेको स्थिति बाट राम्रो बनाउन सक्ने हैसियत म मा छ जस्तो लाग्छ। तर के गर्ने यहाँ प्रोत्साहन गर्ने भन्दा निरुत्साह गर्नेहरूको भीड जो छ ।मैले  जुन  जीवनशैली अपनाएको छु, त्यो  राजनीतिमा आउनेहरूका लागि नभई नहुने चरित्र हो । सबैभन्दा  मुख्य कुरा  राजनीतिमा आउनेहरूले आफ्ना लागि होइन देश र जनताका लागि समर्पित हुनुपर्छ।यसरी असल साबित हुन नसकेको काङ्ग्रेस र पटक पटक काङ्ग्रेसको छाताभित्र अटाउन नसकेको काङ्ग्रेसको छोरोसँग पनि विरासत धानिदिए हुने,भन्ने इच्छा सहित तपाईँ तनहुँमा आएर राजनीति गर्नु पर्‍यो भनेर धेरैले मलाई आग्रह सहितको सन्देश पठाउनु भएको छ । त्यसको लागि तपाईँ सम्पूर्णमा म मनैदेखि कृतज्ञता व्यक्त गर्दछु।तनहुँमा जन्म लिन पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु । म भित्र देशका लागि केही गरूँ भन्ने इच्छा सदैव थियो र छ पनि।झन् तनहुँ त मेरो जन्मभूमि, मेरो आफ्नो माटो त्यसको माया कसलाई हुँदैन र? जसले मलाई झकझकाई रहन्छ।तर म सँग राजनीति गर्नको लागि अरू सँग भए जस्तो योग्यता छैन । म जे अभ्यास गर्छु त्यो प्रचार गर्छु र जे प्रचार गर्छु त्यो अभ्यास गर्छु।

यस्तो जीवनशैली भएका मान्छेहरू राजनीतिमा विरलै सफल हुन्छन् ।नेपाली काङ्ग्रेसमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नेहरूलाई त पाखा लगाइन्छ भने हामी जस्तोले ठाउँ पाउनु र काम गर्न दिनु दिवास्वप्न नै हो । जसले गर्दा अहिलेका नेतामा भएका गुण (अवगुण)नभएकै कारणले यो पार्टीमा बसेर योगदान गर्न सकिन्छ जस्तो लाग्दैन।

म राजनीतिमा रहुँला नरहुँला तर तनहुँ प्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु। तनहुँ बासीले गर्नुभएको मायाको सदैव ऋणी हुनेछु। जसलाई चुकाउने भरमग्दुर प्रयास गर्नेछु।

वर्तमान समयमा राजनीतिमा रहेकाहरूसँग मेरो कुनै पनि आनीबानी मिल्दैन।म अराजकता र अस्थिरतामा विश्वास राख्दिनँ। म केवल शान्ति र अमनचयनमा विश्वास राख्छु। जोशीको छोरो वाला ट्याग भिराएर राजनीतिमा आउन बाट वञ्चित गरिनु पहिले ‌मलाइ एउटा सच्चा नागरिकको रूपमा किन नलिने? न मैले मेरो जीवनमा आजसम्म  शक्तिको दुरुपयोग गरेको छु, न कुनै पार्टीको प्रयोग गरेर कुनै पदमा आसीन नै छु। म देशको निम्ति केही गर्न चाहन्छु, परिवर्तनका लागि केही नयाँ गर्न चाहन्छु र म भित्र त्यो गर्न सक्ने खुबी पनि छ, भने  तपाईँ नै  भन्नुस्  मैले  राजनीति गर्नु  पर्ला  कि नपर्ला ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्