जेठ २२, दाङ । नेकपा दाङले निर्माण गरेको कोभिड बिरामी कुरुवा प्रतीक्षालय आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ। नेकपाका केन्द्रीय सदस्य , दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शीतलले हस्तान्तरण कार्यक्रमको व्यानर पढेर प्रतीक्षालय हस्तान्तरण गर्नुभएको हो।
प्रतीक्षालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शीतलले प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड दिन अपिल गर्नुभयो।उहाँले कोभिडको विषम परिस्थितिमा प्रतीक्षालयले बिरामी कुरुवाका लागि राहत प्रदान गर्ने बताउनुभयो। कोभिडका कारण हजारौँ नागरिकहरूले ज्यान गुमाउँदा समेत राज्य दैनिक जसो सत्ता जोगाउन मै केन्द्रित रहेको उहाँको ठहर छ। उहाँले संसदीय व्यवस्थाका मतियारहरूले जनताप्रति घात,अन्तरघात,राष्ट्रघात जनताको मतको अपमान र दुरुपयोग गरेको बताउनुभयो।उहाँले भन्नुभयो,”राष्ट्र घात जनघात रोक्न संसदीय व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजवादको स्थापना निर्विकल्प उपाय हो”।उहाँले वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमत सङ्ग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु नै सबैखाले सङ्कटको समाधान हुने उद्घोष गर्नुभयो।
कार्यक्रममा कोरोना विशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक दोर्ण वलिले प्रतीक्षालय निर्माण कार्यले पार्टी जनताप्रति उत्तरदायी पार्टी भएको बताउनुभयो।उहाँले निर्धारित समयभन्दा पहिले नै निर्माण कार्य सम्पन्न भएकोमा पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा मन्तव्य राख्दै प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेले कोभिड अस्पताललाई आवश्यक पर्ने प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेकोमा धन्यवाद दिनुभयो। प्रतीक्षालय निर्माणमा नेकपाका नेता-कार्यकर्ताहरुले श्रमदान गरेका थिए भने व्यवसायीहरू राम बहादुर खड्का,राजु थापा,गणेश इट्टा उद्योग(भीम),हनुमान इट्टा उद्योग(मोहन),देव गुरुङ,हरि के सी,असोद देवकोटा,ट्रस्ट जडान(दुर्गा,टोप बहादुर,अन्जन) लगाएतले आवश्यक सामाग्रीहरु सहयोग गरेको र प्रतीक्षालयको कुल लागत १३००००(एक लाख तीस हजार)मा सम्पन्न भएको युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलकले जानकारी दिए। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सबिन,बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर,विशेष समिति सदस्य विक्रम,प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपाने,मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंह,कोरोना विशेष अस्पताल बेलझुन्डिका व्यवस्थापक दोर्ण वली,प्रदेश टुडे दैनिक पत्रीकाका सम्पादक गोपाल शर्मा भट्टराई,संस्कृत विश्वविद्यालय कर्मचारी व्यवस्थाण समिति सदस्य विनय पोख्रेल,प्रेम खड्काको आतिथ्य रहेको थियो ।
कार्यक्रममा कोरोना विशेष अस्पताल बेलझुन्डीले प्रतीक्षालय निर्माणको उच्च प्रशंसा गर्दै जिल्ला पार्टीलाई सम्मान पत्र प्रदान गरेको छ। नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपको सभापतित्वमा भएको कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले स्वागत मन्तव्यबाट राखेका थिए भने सञ्चालन पार्टी जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।