विश्व वातारण सन्दर्भ जनसङ्ख्या वृद्धि र पर्यावरण विनाश : विश्वको भयावह पक्ष



लोकनारायणसुवेदी
 
विश्वमा अहिलेसम्म के मानिँदै आइएको छ भने विश्वमा मानिसको जनसङ्ख्या सन् १३५० मा आएको भयङ्कर ठुलो महामारी ‘कालो मृत्यु’ अर्थात् ‘प्लेग’को महामारी पछियता लगातार बढ्दै नै आएको छ । जनसङ्ख्या वृद्धि सन्१३५० पछि सुरु भएको देखिन्छ । त्यसको कारण सुध्रिँदो स्वास्थ्य र बढी खाद्यान्न उत्पादनलाई मानिन्छ । यद्यपि विश्वमा जनसङ्ख्याको वृद्धि दर वर्ष सन् १९८० पछि घट्न थाल्यो तर पनि जनसङ्ख्याको पूर्णाङ्क सङ्ख्या फेरि पनि वृद्धि नै हुँदै रह्यो ।

आजभन्दा झण्डर् २ वर्ष अघिको एउटा अनुसन्धान प्रतिवेदनले के बताएको थियो भने ५ जुलाई २०१९ का दिन ७६३.४ करोड मानिस यो पृथ्वीमा थिए ।आजका दिन यो सङ्ख्या ७ अर्ब ८७ करोड ४ लाख ६९ हजारभन्दा बढी हुन पुगेको छ । अनि के पनि मानिएको छ भने यो धरतीले ४ अर्ब मानिसलाई मात्र राम्रो जीवन यापन दिन पर्याप्त छ भने यसले १६ अर्बभन्दा बढी मानिसको बोझ बोक्न सक्ने यसको स्थिति छैन ।

यो पृथ्वीको अन्तिम सीमा हो । के पनि मानिँदै आएको छ भने आगामी सन २०४०/५० सम्ममा विश्वको जनसङ्ख्या ८ देखि १० अर्बसम्म पुग्नेछ । किन कि अहिले प्रति वर्ष ७.४ करोड मानिसको जनसङ्ख्या यो पृथ्वीबा बढ्ने गरेको छ । विश्वका ७ वटा देश यस्ता छन् जसका कारणले विश्वको आधा जनसङ्ख्याको भाग उनीहरू मात्र हुन्छ ।

यो हाम्रो पृथ्वीमा कति जनसङ्ख्या हुनु पर्ने हो भन्ने चर्चा धेरै पहिलेदेखि नै चल्दै आएको हो । प्राचीन लेखक तेतुल्लियनले दोश्रो शताब्दीमा के भनेका थिए भने जनसङ्ख्या पृथ्वीको क्षमता अनुसार नै हुनु पर्दछ ।अहिले भन्दा ७५० वर्ष पहिला अर्थात् औद्योगिक क्रान्तिभन्दा पनि पहिला जति बेला विश्वको जनसङ्ख्या धेरै मन्द गतिले मात्र बढ्ने गर्दथ्यो तर यता १९औ शताब्दी आइपुग्दा नआइपुग्दै यो जनसङ्ख्या बढेर अर्बौंमा पुग्न गयो ।

१९औँ शताब्दीको त्यसै औद्योगिक क्रान्तिपछि जनसङ्ख्यामा पनि वृद्धि भयो र भने त्यसको सँगसँगै प्राकृतिक श्रोत साधनहरूको पनि शोषण पनि बढ्दै गयो । यस शताब्दीको अन्त्यसम्ममा मानिसको जनसङ्ख्या एक अर्ब थियो । त्यो २० औँ शताब्दी लाग्दा नलाग्दै १.६ अर्ब पुग्न गयो । यो २० औँ शताब्दीको अन्त्यसम्ममा पुग्दा यो ह्वात्तै बढेर ६ अर्बमा आइपुग्यो । हुन पनि विद्धान अर्थशास्त्र थोमस माल्थसले भनेका थिए कि पृथ्वीमा यो मानव जाति संसाधनहरूको तुलनामा कयौँ गुणाले बढ्न जानेछ । यो पृथ्वीले कति जनसङ्ख्याको भार बहन गर्न सक्तछ भन्ने बहस शताब्दीऔं देखि चल्दै आएको भए पनि सन् १९९४ देखि यसको विश्लेषण पनि आरम्भ भयो ।

त्यति बेला इण्टर एकेडेमिक प्यानलले आफ्नो प्रतिवेदनमा भनेको थियो कि जनसङ्ख्याको कारण पर्यावरण, जलवायु परिवर्तन, प्रदूषण जस्ता मुद्दाहरू खडा हुन पुग्नेछन् । संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या विश्लेषणको २००४ को प्रतिवेदनका अनुसार आगामी सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या स्थिर हुन पुग्नेछ । तर सन्२०१४ को साइन्स म्यागाजिनले भने यस कुराको खण्डन गर्दै बताएको थियो यो जनसङ्ख्या वृद्धि आउँदो शताब्दीसम्म जारी रहिरहने छ ।

चार वर्ष अघि सन् २०१७ मा नै ५० जना नोबेल पुरस्कार विजेताहरूले सामूहिक रूपले एउटा अपिलमा भनेका थिए अधिकतम मानव जनसङ्ख्या तथा पर्यावरणीय क्षति विश्वका आजका दुइटा ठुलो खतरा बन्न गएका छन् । गएको वर्ष २०१९ मा १५२६४ जना वैज्ञानिकहरूले के मानेका थिए भने बढ्दो जनसङ्ख्या नै बिग्रँदो सामाजिक, आर्थिक तथा पारिस्थितिक कारण हो ।
तथापि जनसङ्ख्याको यो मुद्दा विश्वका बहसको ठुलो मुद्दा हुने गर्दैन । किनभने यस मुद्दासँग विभिन्न कुराहरू जोडिएका छन् । जनसङ्ख्याको आर्थिक, सामाजिक तथा राजनीतिक पक्ष जति जति बेला चर्चामा आउँदछ त्यो विभिन्न किसिमका विवादमा अड्किने गर्दछ ।

तर हामी कोही पनि जनसङ्ख्याको चर्चामा कतै पन्छिने या तर्किने गर्न सक्तैन । किनभने स्थिति लगातार विस्फोटक बन्दै आएको छ । विशेष गरेर जब विश्वमा प्रत्येक तेस्रो व्यक्तिलाई आज भर पेट खाना प्राप्त गर्न सक्ने स्थिति छैन, विश्वको जनसङ्ख्याको आधा जसो आबादीको शिर ओतिने छत छैन, विश्वको जनसङ्ख्याको केवल ३०.४० प्रतिशत मानिसहरूसम्म मात्र पुग्न सकेको छ ।
यी सबै कारणले गर्दा गाउँघरबाट सहर तिर जनसङ्ख्या पलायन तीव्र बनेको छ । यस्तो स्थितिमा बुझ्न सकिन्छ कि यदि एक हेक्टरको खेतीबाट २२ टन मात्रै धान उत्पादन गर्न सकिन्छ र त्यसबाट १००० मानिसको मात्र पेट भरिन्छ भने यसबाट अगाडिको स्थिति के कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ कि स्थिति कति भयावह छ । यो मानव जनसङ्ख्याका साथै हामीले यो पृथ्वीका अरू प्राणीहरूको बारेमा पनि सोच्नु पर्ने हुन्छ । एउटा प्रतिवेदनका अनुसार १.४ लाख प्रजातिहरू आज यो धरतीबाट विलुप्त हुने सँघारमा पुगिसकेका छन् ।

ती मध्ये ८०१ वन्य जीवजन्तु पनि सामेल छन् । ‘वल्र्डवाइड फण्ड फर नेचर’ले दिएको एउटा प्रतिवेदन अनुसार विश्वको मानव जनसङ्ख्या यदि यसै गतिमा बढ्दै जाने हो भने आजको यो हाम्रो पृथ्वीभन्दा डेढ गुणा ठुलो अर्को पृथ्वीको आवश्यकता छ ।
अर्कोतिर बढ्दो जनसङ्ख्याका कारण सुरक्षित पिउने पानीको उपलब्धतामा पनि सोझो असर परेको छ । बढ्दो वायु प्रदूषण, माटो तथा ध्वनी प्रदूषण आदि पनि सोझै बढ्दो जनसङ्ख्याकै कारण उत्पन्न समस्याहरू हुन् । बितेको सन१९७० देखिएता २०१५ को बिचमा ऊर्जाको उपभोगमा कयौँ गुणा वृद्धि भएको छ । सन १९७० मा यदि ऊर्जाको उपभोगलाई शून्य मान्ने हो भने सन् २०१० मा यो १५० गुणाले बढी हुन्छ र २०२५ सम्म गइपुग्दा यो २५० गुणा बढी हु नपुग्ने छ र यसका लागि हदभन्दा बढी प्रकृतिको शोषण हुन जानेछ ।

हामीलाई थाहा भएकै कुरा हो कि विश्वमा बाल शिशु मृत्यु दर बढ्दो गरिबिका कारण उत्पन्न भएको हो । अनिकाल, कुपोषण र अरू नयाँ नयाँ बिमारीहरूको सिधा कारण बढ्दो जनसङ्ख्यासँग जोडिन पुग्दछ । अनि कठिनाइ के छ र हुन्छ भने विश्वमा कुपोषित र अल्पपोषित मानिसहरूको सङ्ख्या पनि निरन्तर बढिरहेको छ । अहिले त स्थिति कहाँसम्म पुगेको उल्लेख गरिन्छ भने बृटेन जस्तो सक्षम मानिएको देशलाई पनि आफ्नो देशका मानिसलाई बचाउन खाद्यान्न आयात गर्नु पर्ने स्थिति बनेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्