काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले नचाहेका कारण नेकपा खारेज भएको दाबी गरेका छन् । आइबार साँझ वक्तव्य जारी गर्दै ओलीले अदालतको फागुन २३ को फैसलाले पार्टी एकता भंग नगरेको बरू नाम मात्र अर्को लिएर निर्वाचन आयोगमा जान भनेको स्मरण गराएका छन् ।
‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौं । एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रुपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोर्होयाइरहन आवश्यक देख्दिनँ तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन । यसका कारणहरु बारे यहाँ धेरै भन्न चाहन्नँ, उनले अगाडि भनेका छन्, ‘२०७७ साल फागुन २३ गतेको अदालतको फैसला एकीकरण प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् तर यो यथार्थ होइन । अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । र यसका लागि समय पनि दिएको हो । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन ।’
उनले पार्टी एकता कायम नभएपछि मात्रै आफूहरू एकीकरणका पक्षधरहरुको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा एमालेलाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेको बताएका छन् । तत्कालीन नेकपाका प्रथम अध्यक्ष समेत रहेका ओलीले आफ्नो कारण पार्टी एकता भएको र भोलिका दिनमा पनि एकताका निम्ति क्रियाशील रहने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।