बुटवल २१ माघ। प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ ।
प्रदेश ५ को बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी पूरा भएको जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले बताउँनुभयो ।प्रदेशसभा बैठकका लागि बुटवल उद्योग वाणिज्य संघको भवनलाई चिटिक्क पारेर सिँगारिएको छ ।प्रदेश ५ मा पर्ने बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँचीका सांसदहरु बुटवल आइसकेका छन् भने पाल्पा, नवलपरासी पश्चिमका सांसदहरु नजिक भएकाले आउने क्रममा छन् ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण मैनालीले आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको बताए ।
५ नम्बर प्रदेशबाट नेकपा एमाले ४१, नेपाली कांग्रेस १९, माओवादी केन्द्र २०, संघीय समाजवादी फोरम ५, राष्ट्रिय जनता पार्टी १ र राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् ।
यस्तो छ पहिलो बैठकको कार्यसूची
७९ वर्षीय जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पहिलो बैठकको सभामुखको भूमिका निर्वाह गर्नेछन् । बैठक शुरु हुनसाथ सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाको प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ ।
त्यसलगत्तै शहीदप्रति सम्मान गर्दै मौनधारण गर्ने र राष्ट्रिय गीतमा सरिक हुने गरि सामान्य नियम अनुसार बैठक अगाडि बढ्ने संघीय संसदका सचिव सुरेन्द्र अर्यालले बताए ।
पहिलो बैठक भएकाले सभामुखले प्रदेश सांसदहरुलाई सम्बोधन गर्ने कार्यसूची छ । यसका साथै आईतबार ५ नम्बरप्रदेशबाट प्रतिनिधित्व गर्ने ६ वटा दल, एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले १० मिनेटका दरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशसभामा मुख्य गरि प्रदेश प्रमुखको पत्र, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधि प्रस्ताव र आउँदो माघ २८ गतेका लागि सभामुखको निर्वाचनसम्बन्धी कार्यसूची रहेको प्रदेश सांसद सचिवालयका सचिव अर्यालले बताए ।यसैबीच, बुटवल उद्योग बाणिज्य संघमा मिडिया सेन्टर स्थापना गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।