जातीय विभेदले लियो अर्को ज्यान



पीडित परिवारको आरोप– दलित भएकै कारण गालीबेइज्जती गरेर संगमलाई प्रेमिकासँग अलग गरिदिए , प्रहरी भन्छ– संगमले बिहे गरेको छैन, उसले झुन्डिएर आत्महत्या गरेको हो

दलित र गैरदलित युवायुवतीबीच प्रेम सम्बन्ध । भागेर बिहे । बालविवाहसम्बन्धी कानुनको डन्डा देखाएर समाज र प्रहरीको दबाबमा केटा–केटीलाई अलग गराई मिलापत्र । र, केही दिनपछि युवकको शव फेला । घटनाको यो विवरण सुन्नेबित्तिकै सबैको स्मरणमा आउँछ, काभ्रेको पाँचखाल नगरपालिका–६, होक्सेका अजित मिजारको । उनको शव अहिले पनि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छ । गैरदलित युवतीसँग प्रेम गरेकै कारण उनले न विवाह गर्न पाए, न त मरेपछि न्याय नै ।

अन्तर्जातीय विवाहकै कारण अजितले ज्यान गुमाएको पाँच वर्षपछि भोजपुरमा उस्तै प्रकृतिको घटना भएको छ । बोयाकै १५ वर्षीय श्रेष्ठ थरकी किशोरीसँग एक वर्षको प्रेम सम्बन्धपछि भागेर अन्तरजातीय बिहे गरेकै कारण षडानन्द नगरपालिका–१४, बोयाका १८ वर्षीय संगम ठटालको ज्यान गुमेको छ । एक वर्षअघि जुन दिन रुकुम पश्चिमको सोती घटना भयो, ठिक त्यही दिन अर्थात् १० जेठ राति संगमले आफ्नी प्रेमिकालाई बिहे गरेर भित्र्याएका थिए । तर, ११ जेठमा प्रहरी र जनप्रतिनिधिले उनीहरूलाई अलग गरिदिए । १२ जेठदेखि संगम बेपत्ता भए । १४ जेठ साँझ उनको शव गाउँकै जंगलमा झुन्डिएको अवस्थामा भेटियो ।

आफूहरू दलित भएकै कारण छोराले ज्यान गुमाउनुपरेको संगमकी आमा सीता ठटालले बताइन् । ‘हामीले चाल नै नपाई छोराले नेवार जातकी केटी ल्यायो । उनीहरू एक हुन चाहेपछि हामीले के गर्न सक्छौँ भन्ने लाग्यो,’ सीताले टेलिफोनमा नयाँ पत्रिकासँग भनिन्, ‘आधा रातमा लिएर आएको थियो । बाबु किन यस्तो गरेको ? समाजले स्विकार्दैन भन्दा केटीले नै हामी एक–अर्कालाई चाहन्छौँ ।

मैले बाबा–आमासँग कुरा गरिसकेँ । हामीलाई त्यस्तो गाह्रो पर्दैन भन्थी । आखिर हाम्रो छोरोले मर्नुपर्‍यो ।’ आफ्नो छोरालाई दलित भएकै कारण गाली बेइज्जती गरेर उसको प्रेमिकासँग अलग गरिदिएको बाबु गोरखबहादुर ठटाल बताउँछन् । ‘गाउँमा यस्ता बिहे अरू पनि भएका छन्, त्यहाँ वडाध्यक्ष आफैँ आएर भोज खान्छन् ।

अहिले त हामीलाई दलित भनेर यस्तो गरे । हाम्रो लाठे भएको छोरो गुम्यो,’ उनले भने । संगमको परिवार शोकबाट उत्रिसकेको छैन । आफ्नो छोराले गैरदलितकी छोरीसँग विहे गरेकै कारण गालीगलौज, धाकधम्की खेपेर आत्मसम्मान गुमाएको सामान्य आर्थिक अवस्था भएको दलित परिवार आफ्नो पक्षमा कसैले नबोली दिएपछि अब छोराको न्यायका लागि बोल्नु कि नबोल्नु भन्ने अन्योलमै छ ।

एक वर्षको प्रेम सम्बन्धपछि बिहे, वडाध्यक्षबाटै दलित भन्दै गालीबेइज्जती
केटा र केटी दुवैको घर बोयामै भए पनि दुई गाउँको बीचको दूरी झन्डै दुई घन्टाको छ । घरको आर्थिक दुरावस्थाका कारण ४ कक्षाभन्दा माथि पढ्न नपाएका संगम ट्रयाक्टर चलाएर घरको खर्च धान्न बाबुलाई सघाउँथे । बुवा गोरखबहादुर भने घरमै सिलाइबुनाइ गर्छन् । ट्र्याक्टरमा ढुंगा, बालुवा र दाउरा ओसार्ने निहुँमा संगम केटीको गाउँमा पनि पुगिरहन्थे । संगमका दाजु सञ्जीव ठटालका अनुसार उनीहरूबीच त्यही क्रममा भेट भएको थियो । एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसयता फोन र भेटघाट निरन्तर थियो ।

१० जेठ ०७७ का दिन सीता दाँत दुखेर बिरामी थिइन् । साँझतिर संगमले फोन गरेर बुहारी लिएर आउँछु भनेका थिए । उनले म बिरामी छु, को हो ? के हो ? अहिले त्यस्तो नगर, बाबालाई सोध्नुपर्छ भनेकी थिइन् । तर, राति करिब १० बजे संगम आफ्नी प्रेमिकासहित घर आए । ‘सुरुमा मैले गाली गरेँ, तर केटीले नै बाबुआमासँग कुरा भइसक्यो । हामीलाई समस्या हुँदैन भनी,’ उनी भन्छिन्, ‘अरूले पनि बिहे गरेर खाएका छन्, कुरै भइसक्या भए ठिकै छ त भनेर खानपिन गरेर सुत्यौँ ।’

११ जेठको बिहान वडाध्यक्ष झंकबहादुर रोका र वडामै काम गर्ने विमल पराजुली संगमको घरमा आए । ‘सुरुमा बिरामी छौ रे, कोरोना हो कि के हो ? भनेर हेर्न आएको । तिमीहरूकहाँ त नयाँ बेहुला–बेहुली पनि छन् रे, कता छन् ?,’ वडाध्यक्ष रोकाले सोधेको सुनाउँदै सीता भन्छिन्, ‘खासमा वडाध्यक्षहरू घरमै छन् कि भागे भनेर खोज्न आएका रहेछन् ।वडाध्यक्षहरू आएको केहीबेरमा प्रहरी र केटीका आफन्त आइपुगे । हामीलाई अनेक थरी गालीगलौज र धम्क्याएर चौकी लगे । गाउँका मान्छे १/२ जना बोलाउँछु भन्दा पनि लैजान दिएनन् । संगमका बाबु, म र बेहुला–बेहुली चारैजनालाई प्रहरीले भ्यानमा हालेर चौकी पुर्‍याए ।’

प्रहरी चौकी लैजाने बेलामा वडाध्यक्ष रोकाले टुटाउने नभई मेलमिलाप गर्ने भनेको सीता बताउँछिन् । ‘चौकीमा केही हुँदैन । उताबाट पनि बाआमा आउँछन्, त्यहाँ बसेर मिलाउने हो । छुटाउने होइन । टिकाटाला पो गर्नुपर्छ,’ संगमका घरमा प्रहरी भ्यानमा हाल्दै गर्दा वडाध्यक्ष रोकाले भनेका थिए । वडाको केन्द्र विहीबारेमा प्रहरीचौकी छ । दिउँसो करिब १ बजेको थियो ।

चौकीमा केटीका बाबुआमा र आफन्त १० जनाभन्दा बढी थिए । वडाध्यक्ष र प्रहरी पनि थिए । तर, आफ्नो पक्षमा बोलिदिने कोही मान्छे नभएको सीता गुनासो गर्छिन् । ‘हाम्रा गाउँका कसैलाई बोलाउन दिएनन् । केटीपक्षका धेरैजना थिए । हाम्रा लागि बोलिदिने मान्छे भएनन्,’ उनले भनिन्, ‘वडाध्यक्षले नै दमाई भनेर हामीमाथि विभेदपूर्ण कुरा गरे ।’ आफन्तका अघि प्रहरीले केटीसँग सोधेको थियो । के गर्छौ योसँग विहे गरेर ? जवाफमा केटीले भनेकी थिइन्, ‘म उसलाई छाड्न सक्दिनँ । उसैसँग बस्छु । म गइसकेँ । हामीलाई अलग नगरिदिनुस् ।’

त्यसपछि वडाध्यक्ष रोका बोले, ‘अरू कोही नभेटेर यो दमाईसँग जानुपर्ने भन्ने के थियो ? यो दमाईको घरमा के देख्यौ त्यस्तो ? यो दमाईले के खान दिन्छ ? अबदेखि यो दमाईसँग नबोल्नु ।’ वडाध्यक्ष त्यतिमै रोकिएनन् । बालिकालाई अपहरण गरेको भनेर जेल पठाउन मिल्छ । छोरालाई १७ वर्ष जेल हाल्ने कि घर लैजाने ?’ वडाध्यक्षले धम्कीपूर्ण भाषामा भनेका थिए । केही प्रहरीले संगमलाई भित्र लगेर कुटपिट पनि गरे । प्रहरीले मुद्दाको प्रक्रिया अघि बढाउँछु भन्न थालेको थियो । वडाध्यक्षले धम्की दिइरहे ।

केटीका आफन्तले गर्ने गाली पनि थियो । सीता भन्छिन्, ‘छोरालाई जेल पठाउने मन कसको हुन्छ र ? त्यसपछि मैले नै जेल नपठाइदिनु, हामी छोरालाई सम्झाउँछौँ भनेकी थिएँ ।’ त्यसलगत्तै प्रहरी र वडाध्यक्षले कागजजात बनाए । तर, पढेर सुनाएनन् । दुवै पक्षले सही गरेपछि करिब चार घन्टा लामो छलफल सकियो ।

चौकीबाट संगम रुँदै फर्किए । त्यो साँझ उनले खाना पनि खाएनन् । आमा सीताका अनुसार भोलिपल्ट मोवाइल चार्ज गर्छु भनेर गाउँतिर हिँडेका थिए । तर, फर्किएनन् । बेलुका पनि नआएपछि खोजी सुरु भयो । १३ जेठ विहान सीताले प्रहरीकहाँ मेरो छोरा घरमा छैन भनेर खोजी दिन निवेदन दिइन् । गाउँघर, आफन्त सबैतिर खोजे पनि पत्तो लागेको थिएन ।

१४ जेठ अपराह्न जंगलमा गोठालो जानेले झुन्डिएको अवस्थामा संगमको शव भेटेका थिए । राति प्रहरी पनि पुग्यो । जंगलमै शव रुँगे । १५ जेठमा स्थानीय मुचुल्का भयो । र, शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइयो ।
षडानन्द नगरपालिकाका बोर्ड सदस्य ठण्डबहादुर विकले सो घटनाबारे आफूलाई थाहा नभएको बताए । तर, विभेदको अवस्था उस्तै रहेको उनको भनाइ छ । ‘बोयाका दलितहरूको अवस्था एकदमै कमजोर छ । अधिकांश अशिक्षित छन् । त्यहाँ बालीघरे प्रथा कायमै छ । गाउँमा विभेद ज्युँकात्युँ छ,’ उनले भने ।

भोजपुरका प्रहरी प्रमुख डिएसपी कृष्ण चन्दले संगमले झुन्डिएको आत्महत्या गरेको पुष्टि भएको बताए । उनले संगमले कसैसँग पनि विहे नगरेको दाबी पनि गरे । ‘कसैसँग बिहे गरेको होइन, कुटपिट पनि भएको छैन, त्यस्तो भए पोस्टमार्टम रिपोर्टमा देखाउनुपर्ने हो,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्टले प्रस्टसँग ह्यांगिङ भनेर देखाएको छ ।’

उनले बालिका हराएको सूचनाका आधारमा संगमलाई पक्राउ गरिएको र बालबिझ्याईका रूपमा एकपटकलाई जनप्रतिनिधिको रोहबरमा अभिभावकको जिम्मा लगाएको बताए । ‘त्यो घटनाभन्दा अगाडि ११ जेठमा प्रहरीचौकीमा एउटा मिलापत्र गरिएको रहेछ । केटीका अभिभावकले छोरी हराएको सूचना दिएका थिए । भोलिपल्ट संगमकै घरमा केटाकेटी भेटिएपछि कानुनी रूपमा प्रक्रिया अघि बढाउँदा अप्ठ्यारो पर्ने भएकाले दुवै परिपक्व छैनन् । बालबिझ्याइँ हो भनेर सम्झाइबुझाइ छाडिएको हो, बिहे भएको कुरा गलत हो’, चन्दले भने ।

कानुनले बालविवाह गर्न दिँदैन भनेर समझदारी गराएका हौँ
झंकबहादुर रोका ,वडाध्यक्ष, षडानन्द नगरपालिका–१४
प्रहरीमा केटी हराएको उजुरी आएको रहेछ । प्रहरीले तपाईंको वडामा यस्तो कुरा आएको छ, जानुपर्‍यो भनेपछि म गएको हुँ । जातपातको कुरा भएको होइन । अहिले राजीखुसीसाथ उमेर पुगेका केटाकेटीले विहे गर्न पाउँछन् । तर, केटीको उमेर १५ वर्ष मात्रै भएकाले मैले त बिहे गराउनेभन्दा पनि कानुनी बाटोमै अघि बढाऔँ भनेको हुँ । तर, फेरि बाबुआमाले सहमति गर्छौँ, छोराछोरी आ–आफू बुझेर लान्छौँ भनेपछि हामीले जिम्मा लगाइदिएका हौँ ।

यसमा जातपातको कुरै छैन नि । उसले झुन्डिएर आत्महत्या गरेछ । यसमा मलाई त्यस्तो आत्महत्या दुरुत्साहन गर्ने मुद्दा लाग्छ जस्तो लाग्दैन । हाम्रो त्यस्तो नियत पनि थिएन । खालि कानुनले बालविवाह गर्न दिँदैन भनेर मात्रै हामीले समझदारी गराएका हौँ । मैले कुनै गालीगलौज गरेको छैन । हामीकहाँ जातपातको कुरा छैन । साभार नयाँ पत्रिकाबाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्