नेपाल-खनाल पक्षले भन्यो : हस्ताक्षर फिर्ता हुँदैन



जेठ २४, काठमाडौँ। नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमानदारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ। अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावबारे छलफल गर्न सोमबार बसेको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो।

ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा एमालेका सांसदहरूले गरेको हस्ताक्षर फिर्ताको लिनुपर्ने सर्त राखेका थिए। तर खनाल-नेपाल पक्षले हस्ताक्षर फिर्ता स्वीकार गरेर एकता नहुने निष्कर्ष निकालेको हो। एकताका लागि आफूहरूले अघि सारको ६ बुँदे प्रस्ताव विना कुनै सर्त पालना हुनुपर्ने निचोड बैठकले निकालेको सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्।

‘पार्टीको विगतका कमिटी ब्युँताउनका लागि अध्यक्ष ओली निःर्सत रूपमा तयार हुनुपर्ने निष्कर्ष हाम्रो छ,’ उनले भनिन्। यस्तै, नेता बेदुराम भुसालले संविधान, लोकतन्त्र र संसद्को रक्षाका निम्ति गरिएको हस्ताक्षर फिर्ता नहुनेमा एकमत रहेको बताए। उनले अध्यक्ष ओलीबाट इमानदारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको पनि बताए।

‘पार्टी एकताको निम्ति इमानदारीपूर्वक आएको प्रस्ताव हैन। उहाँ (ओली)ले राखेका बुँदा स्वीकार गर्न सकिँदैन। साँच्चै एकता चाहेको हो भने हामीले पहिला राखेका ६ बुँदा अनुसार प्रस्ताव आउनु पर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ भुसालले भने, ‘यसअघि हामीले अगाडि सारेका ६ बुँदे प्रस्ताव लगायतका विषयलाई समेटेर वक्तव्य जारी गर्दैछौं। वैशाख २५ मा नेता नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए। अध्यक्ष ओलीले पनि आइतबार पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्