काठमाडौँ। मङ्गलवार देखी ज्येष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ। ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई मङ्गलवार देखी कोरोना भाइरसविरुद्धको खोप दिइने भएको हो।
मङ्गलवार देखी सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँच दिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक–फरक उमेरका ज्येष्ठ नागरिकलाई खोप दिइने प्रबन्ध मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। पाँच दिनमा एक लाख ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए। दैनिक औसतमा २० हजारले खोप सुविधा पाउने भएका हुन्।
काठमाडौँ महानगरपालिकाले खोपका लागि ३२ वटा खोप केन्द्र तोकिसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए। ज्येष्ठ नागरिकसँगै आउने परिवारका अर्को ज्येष्ठ सदस्य भए पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने उनले जानकारी दिए।
महानगरले भिडभाड कम गर्न २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।