अमेरिकाको सर्वोच्च अदालतले ग्रिन कार्ड आवेदन दिन खोज्ने टीपीएस वाहकका विरुद्धमा फैसला गरेको छ । अमेरिकामा गैर कानुनी रूपमा प्रवेश गरेका टीपीएस वाहकलाई सरकारले ग्रिनकार्ड आवेदन दिनबाट रोक्न सक्ने सोमबार सर्वोच्च अदालतले निर्णय गरेको हो ।
अमेरिकामा गैर कानुनी रूपमा प्रवेश गरेका र देश निकाला हुनबाट संरक्षण प्राप्त गरिरहेका निश्चित प्रकारका गैर नागरिक आप्रवासीहरूलाई ग्रिन कार्ड आवेदन दिनबाट सरकारले रोक लगाउन सक्ने निर्णयको प्रत्यक्ष मार टीपीएस वाहकमा परेको हो । खास गरी विना भिसा सिम क्षेत्रबाट प्रवेश गरेकाहरू यो निर्णयबाट प्रभावित हुनेछन् ।
सर्वोच्चको फैसलाको पूर्ण पाठ
आजको सर्वोच्चको निर्णयलाई गैर कानुनी रूपमा अमेरिका प्रवेश गरेका टीपीएस वाहकका लागि ठुलो झट्काका रूपमा कानुन व्यवसायीहरूले व्याख्या गरेका छन् । सांसदले नै कुनै स्थायी समाधानको बाटो प्रदान नगरेसम्म अस्थायी संरक्षणहरूमा रहेकाहरूका लागि यो निर्णयले अवरोध खडा गर्ने युनिभर्सिटी अफ टेक्ससमा स्कुल अफ ल प्रोफेसर तथा सर्वोच्चको विश्लेषक स्टिभ भाल्डेक को भनाई छ ।
सर्वोच्चले न्यु जर्सी निवासी एउटा जोडीको मुद्दामा फैसला गर्दै त्यस्तो निर्णय सुनाएको हो । सन् १९९७ र सन् १९९८ मा गैर कानुनी रूपमा विना भिसा अमेरिका आएका उनीहरूका अहिले ४ जना छोराछोरीहरू रहेका छन् । सबैभन्दा कान्छो बच्चा अमेरिकामा नै जन्मिएका अमेरिकी नागरिक हुन् ।
सन् २००१ मा एल साल्भाडोरमा गएको भूकम्पपछि उनीहरूले टीपीएस आवेदन दिएका थिए । सन् २०१४ मा यो जोडीले ग्रिन कार्ड आवेदन दिएको थियो । तर उनीहरू अमेरिकामा कानुनी रूपमा प्रवेश नगरेको भन्दै युएससी आईएसले उनीहरूको आवेदन अस्वीकार गरेको थियो ।
अध्यागमन कानुनमा रहेका दुई व्यवस्थासँग उक्त मुद्दा बाझिएको थियो । एउटा व्यवस्थामा टीपीएस लाई वैध स्ट्याटसका रूपमा मान्ने उल्लेख छ भने अर्को व्यवस्थामा ग्रिन कार्डका लागि आवेदन दिनका लागि टीपीएस वाहक कानुनी रूपमा अमेरिका प्रवेश गरेको हुनुपर्छ । तर यी व्यवस्थाहरूले गैर कानुनी रूपमा अमेरिका प्रवेश गरेका टीपीएस वाहकलाई ग्रिन कार्ड प्राप्त गर्न योग्य ठहर नगर्ने न्यायाधीश कागेको भनाई छ ।
अमेरिकामा हाल झन्डै ४ लाख टीपीएस वाहक रहेका छन् । झन्डै ८५ हजार टीपीएस वाहकले स्ट्याटस एड्जस्ट गरेर ग्रिन कार्ड पाउन सफल समेत भएका छन् । यो जोडीका पक्षमा जिल्ला अदालतले फैसला गरे पनि पुनरावेदनले उल्टाएपछि मुद्दा सर्वोच्चमा पुगेको थियो । खसाेखासबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।