काठमाडौँ । केन्द्र देखि सात प्रदेशसम्म नेकपा एमालेका सांसदहरूको संरचनाको अवस्था सुदूरपश्चिम प्रदेशमा मात्र माधवकुमार नेपाल खेमा बलियो अवस्थामा छ । संसदीय दलमा पनि नेपाल समूहको पार्टीभित्र भारी बहुमत छ । यसको मुख्य कारण भीम रावल हुन् ।
रावल नेकपा एमालेबाट निष्कासित भइसकेका छन् । उनी नवौँ महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् । सुदूरपश्चिम प्रदेशका इन्चार्ज पनि थिए । निष्कासन गरिए पनि रावलको शक्तिमा कमी आएको छैन । उनले आज सुदूरपश्चिम प्रदेशमा आफ्नो शक्ति प्रदर्शन गरे ।
एमाले पार्टीले ह्विप जारी गरी नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टले विश्वासको मत लिने क्रममा विपक्षमा मतदान गर्न भनेको थियो । तर, एमालेको माधव नेपाल समूहका १७ जना प्रदेश सभा सांसदले ह्विप उल्लङ्घन गरे । यो २५ जना प्रदेश सभा सदस्य रहेको एमालेको दुई तिहाइ भन्दा बढी सङ्ख्या हो ।
यसअघि सुदूरपश्चिम प्रदेशमा एमालेबाट मन्त्री भएकालाई फिर्ता हुन केन्द्र देखि प्रदेश कमिटीले निर्देशन दिएको थियो । तर, संसदीय दलका नेता प्रकाश शाहीले अस्वीकार गरे । शाही भीम रावलनिकट नेता हुन् । रावलले सुदूरपश्चिममा निकै बलियो प्रभाव बनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।