Banner Second

एसईईको मूल्यांकन गत वर्ष भन्दा फरक हुने

By Thah Online

June 08, 2021

जेठ २५, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मूल्याङ्कनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ। यो वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

गत वर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । सोही कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी विद्यार्थीको मूल्याङ्कन गरिएको थियो ।

समितिले पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन गरी परीक्षाफल प्रकाशित गरेको थियो । यस वर्षको मूल्याङ्कन विधि गत वर्षको  भन्दा फरक हुने अध्यक्ष पौडेलले बताए। के–के फरक हुन्छ भन्ने नखुलाएका उनले भने, ‘गत सालको भन्दा अलि–अलि फरक हुन्छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसइई परीक्षा स्थगित भएको थियो। आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि बोर्डले मूल्याङ्कन कार्यविधि तयार गर्न लागेको हो ।