काठमाडौँ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन एक साताको समय दिएको छ। जसपामा सरकारको समर्थनमा रहेको ठाकुर पक्ष र सरकारको विपक्षमा रहेको उपेन्द्र यादव पक्षले एक अर्कालाई कारबाही गर्दै आधिकारिकतामा विवाद देखिएका बेला ठाकुर पक्षको मागबमोजिम एक साताको समय दिइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने नगर्ने विषयमा जसपा भित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्र नाथ शुक्ललाई दलबाट निष्कासन गरी दर्ता किताबमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए। सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए।
दुवै पक्ष एक अर्कालाई कार’वाहीमा उत्रिएपछि आयोगले पत्र लेख्दै दुवै पक्षको कानुन बमोजिमको प्रक्रिया नपुगेकाले यादवलाई राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिमको निवेदन पेस गर्न र ठाकुरलाई बहुमत केन्द्रीय पदाधिकारीहरूको हस्ताक्षर ल्याउन भनेको थियो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले लेखेको पत्रमा यादव पक्षबाट पत्र आइसकेको र ठाकुर पक्षबाट केन्द्रीय पदाधिकारीहरू उपत्यका बाहिर रहेको, कोभिड निषेधाज्ञाका कारण काठमाडौँ आउन नसकेकाले हस्ताक्षर बुझाउन एक साताको समय मागेका थिए।
‘एक पक्षबाट पत्र प्राप्त भइसकेको छ, अर्को पक्षबाट केन्द्रीय समितिका पदाधिकारीहरू काठमाडौँबाहिर रहेको र कोभिडका कारण आउन समस्या भएकाले एक साताको समय माग्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले नागरिकसँग भने, ‘एक साताभित्र उहाँहरूबाट मागिए बमोजिमको विवरण के आउँछ, दुवै पक्षले पेस गरेको प्रमाण हेरेर आयोगले निर्णय लिन्छ।’ नागरिक दैनिकबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।