डेढ वर्षमा ३ स्वास्थ्य मन्त्री, ३ प्रजातिका कोरोना भाइरस



काठमाडौं । कोरोना भाइरस गत सय वर्ष यताको सबैभन्दा ठूलो महामारी बनेको छ । सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो भने ५ करोडभन्दा बढीको ज्यान लिएको थियो । सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारी सोमबारसम्म विश्वमा १७ करोड ३३ लाखमा सरिसकेको छ भने ३७ लाख ३० हजारको ज्यान लिइसकेको छ ।

२०७६ माघ १० मा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको नेपालमा हालसम्म ५ लाख ९१ हजार संक्रमित भइसकेका छन् भने ७ हजार ९९० ले अकालमा ज्यान गुमाइसकेका छन् । नेपालमा संक्रमण दर अझै पनि २५ देखि ३० प्रतिशत हाराहारीमा छ । यो दर महामारी फैलावटको हिसाबले उच्च हो ।

हाल संक्रमण सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी फैलिएको छ । अधिकांश जिल्लामा विगत ८ सातादेखि निषेधाज्ञा जारी छ । पछिल्ला दिनमा कोरोना भाइरसको मृत्युदर १.६ प्रतिशतमा उक्लेको छ । जनस्वास्थ्यको यस्तो चरम संकटका बेला स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्न नसकेको भनी आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी ओलीले महामारी सुरु भएको डेढ वर्षमा गत साता तेस्रो स्वास्थ्यमन्त्री नियुक्त गरेका छन् ।

यसरी महामारी नियन्त्रणमा केन्द्रीय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व महामारीबीच तेस्रो पटक परिवर्तन भएको छ । गत पुस १० मा नियुक्त भएका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ६ महिना नपुग्दै बाहिरिएका छन् । उनलाई गत साता गरिएको मन्त्रिमण्डल हेरफेरका क्रममा शेरबहादुर तामाङले प्रतिस्थापन गरेका छन् ।

त्यसअघि भानुभक्त ढकालले एक वर्षजति मन्त्रालयको नेतृत्व सम्हालेका थिए । त्यसो त ओलीले ३ वर्षमा ५ पटक स्वास्थ्यमन्त्री फेरेका छन् । संसदको लगभग दुईतिहाइ सदस्यको समर्थनमा सरकार गठन गरेका प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अर्यालले मन्त्रीसरहको अधिकार प्राप्त गरेकी थिइन् । अर्यालले एक वर्षभन्दा बढी नेतृत्व सम्हालेपछि २०७५ जेठमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि २०७६ मंसिरमा स्वास्थ्यमन्त्रीको जिम्मा भानुभक्त ढकालले लिएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्