बस र अटो ठोक्किँदा भारतमा १७ मजदुरको मृत्यु



नयाँदिल्ली । भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

भारतीय प्रहरीका आईजी मोहित अग्रवालले तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको र १७ जनाको मृत्यु भएको जानकारी सामाचार एजेन्सी एएनआईले जनाएको छ । लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । दुर्घटना यति भयानक थियो कि धेरैजसोको घटनास्थलमै मृत्यु भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री विपद कोषबाट मृतकका परिवारलाई दुई लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्