‘संवैधानिक इजलासबाट न्यायाधीशद्वय भट्टराई र कार्की नहट्ने’



काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास सुरु भएको छ। आइतबार न्यायाधीशका विषयमा प्रश्न उठेपछि स्थगित भएको संवैधानिक इजलास सोमबार र मङ्गलवार बस्न सकेको थिएन।

यसअघि सरकारी पक्षले इजलासमा रहेका दुई न्यायाधीशका विषयमा प्रश्न उठाए पनि बुधवार सोही इजलास निरन्तर भएको हो। आजको इजलास सुरु हुने बित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन्।

योसँगै आइतबारको सरकारी पक्षको बहसलाई सर्वोच्च अदालतले मान्यता दिएन। अब वरिष्ठ न्यायाधीशहरूको यही इजलासले नै प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ अघि बढाउनेछ। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । बहुमतीय दाबीअनुसार प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने, प्रतिनिधि सभा पुरस्थापना गर्नुपर्ने रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको थियो। बुधवारको इजलास शेरबहादुर देउवासहितको निवेदकबाट सुरु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्