कोरोनाविरुद्धको खोपबारे चाँडै सकारात्मक सन्देश आउँछ : स्वास्थ्यमन्त्री तामाङ 



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका छन् । बुधवार नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने पनि बताए ।

उनले आगामी दिनमा फ्रन्टलाइनमा खट्ने र खेल क्षेत्रका व्यक्तिहरूलाई समेत खोपमा प्राथमिकता दिने भन्दै सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचारका बारेमा पनि सरकार सजग रहेको बताए । ‘खोपलाई प्राथमिकताका साथ अगाडी बढाएका छौँ । आएको खोपको सीमितताको कारणले उमेर समूहलाई छुटाएर गरिरहेका छौँ । 

सम्भवतः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईँहरूले पाउनुहुनेछ पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन’, तामाङले भने, ‘अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ, उहाँहरूलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ । 

कोभिडसँगै अन्य उपचार कसरी जनतालाई सहज बनाउन सकिन्छ, जनता उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडी बढेका छौँ ।’ मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासङ्घले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौँ उपत्यकामा ५ हजार र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड – १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । 

त्यसै गरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्ने गरी व्यवस्था गर्न, पिसिआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासङ्घले माग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्