प्रदेश २ सरकारमा काँग्रेसलाई ३ वटा मन्त्रालय दिइयो



जनकपुरधाम : प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुन तयार भएको छ । काँग्रेसलाई प्रदेश सरकारको तीन महत्त्वपूर्ण मन्त्रालय दिने सहमति भएपछि बुधवार साँझ साढे ७ बजे काँग्रेसका मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएको छ । मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवका अनुसार काँग्रेसलाई दिइने मन्त्रालय टुङ्गो लागेको र केही बेरमा काँग्रेसबाट सहभागी हुने मन्त्रीहरूको शपथ कार्यक्रम राखिएको छ ।

काँग्रेसका प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादवको नेतृत्वमा काँग्रेस प्रदेश २ सरकारमा सहभागी भइरहेको छ । काँग्रेसलाई ३ वटा मन्त्रालय दिइएको छ । स्रोतका अनुसार काँग्रेसबाट मन्त्री हुने ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंह पनि हुन् । पर्साबाट निर्वाचित शर्मालाई ऊर्जा र खानेपानी मन्त्रालय र सर्लाहीबाट निर्वाचित सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको स्रोतले बतायो ।

यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । मुख्यमन्त्री राउतसहित अहिले केही बेर अघि सकिएको बैठकमा सहभागी काँग्रेसका नेता जीवनाथ चौधरीले संसदीय दलका नेता यादवको नेतृत्वमा सरकारमा सहभागी हुने सहमति भएको बताए । उनले काँग्रेसबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरूको नाम केही बेरमै टुङ्गो लाग्ने जानकारी दिए ।

बुधवार साँझ साढे ७ बजे प्रदेश प्रमुख राजेश झाले काँग्रेसका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण गराउँदै छन् । जसपाका उपेन्द्र यादव र राउत समूहले सरकारबाट ठाकुर–महतो समूहका चार मन्त्री पदमुक्त गरेपछि काँग्रेसलाई सहभागी गराइएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्