यसकारण कम्युनिस्टहरु पतनको दिशामा पुगे



संसार भरका कम्युनिष्टहरुका लागि पछिल्लो समय निकै चुनौतीपूर्ण भएको आएको छ । हाल उनीहरुमा सबै हिसाबले खतरनाक तथा विनासकारी प्रवृतिका रुपमा आत्मकेन्द्रित व्यक्तिवादी चरित्र उदय भएर सतहमा देखिएको छ । लेनिन र माओले आफ्नो जीवनकालमा क्रान्ति र क्रान्तिकारीलाई जति सन्तुलन मिलाएर लिने प्रयास गर्नु भयो त्यस भन्दा पछि उनीहरुका उत्तराधिकारीहरु सफल हुन सकेका छैनन् ।

लेनिनले मार्तोभदेखि बुखारिनसम्म मिलाएरै सत्ता र पार्टी चलाउनु भयो भने स्टालिनले कार्वाही गर्नेदेखि मृत्युदण्ड दिनेसम्मका विधिले मात्र सत्ता र पार्टीको रक्षा गर्न सफल हुनुभयो । क. माओ भने महान् सर्वहारा साँस्कृतिक क्रान्ति र जनमुक्ति सेनाको बलमा साथै सत्ता र पार्टी विरोधिहरूलाई जनकार्वाही गरेर जोगाउन सफल भएपनि उहाँका उत्तराधिकारीहरु भने वास्तविक कम्युनिस्ट चरित्रको सत्ता टिकाउन असफल भए ।

हामीले शिक्षा लिने अग्रजहरुको पार्टी सत्ता चलाउने समयमा अवस्था जसरी बित्यो इतिहास बन्यो अन्य मुलुकका नेताहरू होची मिन्ह, किम इल सुङ, अनवर होक्जादेखि फिडेल क्यास्ट्रोसम्मका अनुभवहरूले पनि हामीलाई के शिक्षा दिएको छ भने सही मार्ग निर्देशन गर्नसक्ने क्रान्तीकारी उत्तराधिकारी एक दुई जनासम्म निर्माण गर्न सक्दा सत्ता र पार्टी मिलाएर अगाडी बढ्न सक्दा समाजवादी सत्ताको विकास, रक्षा र निरन्तरता दिन सकिने थियो ।

२१औं शताब्दीमा आइपुग्दा यो कदम सफल गर्न एक दुईजनाबाट मात्रै कम सम्भावना रहन्छ । जनताको जीवनस्तर र विश्वको राजनीतिक परिवेश बुझेका वा बुझ्न सक्ने क्रान्तिकारी उत्तराधिकारीहरूको विशाल जत्था निर्माण गरेर मात्रै अबको समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सकिनेछ । त्यसका लागि व्यापक मात्रामा र सही अर्थमा इमानदार कार्यकर्ता तयार पार्नु पर्छ र त्यसका लागि जनतामा जानु पर्छ र जनताका छोराछोरीलाई ठूलो संख्यामा पार्टीमा आवद्ध बनाउन पर्छ ।

हामीले संसारका हरेक कम्युनिष्ट पार्टीहरु हेरौं, ती सबै आत्मकेन्द्रित व्यक्तिवादका कारण विघटन भएका छन् वा विघटनतिर उन्मुख छन् । ठूला ठूला कम्युनिस्ट पार्टी भनेर चिनिने कम्युनिष्ट पार्टी एमाले र माओवादी मिलेर पनि विघटन भैसक्यो भने साना कम्युनिस्ट पार्टीहरुलाई अस्तित्व रक्षा गर्न मुस्किल भएको छ । एमाले, माओवादी केन्द्र र साना सबै दलहरु कम्युनिष्ट होइनन् भन्ने कुरा सिद्धान्तले प्रमाणित गरिसकेको छ ।

एक दुईमा विभाजन र संगठित रुप नै वस्तु हो भनी बुझ्न नसक्नेहरु कसरी कम्युनिष्ट हुन्छन् । नेपालमा त एक दुईमा विभाजन द्धन्दवादको सार्वभौम सिद्धान्त मात्र मान्दै विघटित हुन जानेका हामी कम्युनिष्टहरु दुई समायोजन नै वस्तुको आकार हो, जसभित्र एक अर्कामा रुपान्तरणका लागि रचनात्मक संघर्ष लेनिनले मेन्सेभिक र बोल्सेभिक नाम लिएर एउटै पार्टी संचालन जसरी गर्नुभएको छ त्यो पाटो आज हामीसँग भएन ।

विपरितहरुको बिचमा चल्ने एकता र संघर्षको नियम पनि रुपान्तरणका लागि हुन्छ तर विघटनका लागि होइन तर सधै विघटनको एकपाटो पकड्ने आत्मकेन्द्रित व्यक्तिवादको नेपाली मौलिक विशेषता हो ।

पुष्पलालले निर्माण गरेको नेकपा आज दर्जनौं टुक्रामा विभाजित भएका हामी मालेमावादमा के कति आधारभुतरुपमा बदलाव आयो र विभाजित भयौं ? त्यो कसैले जवाफ दिन सकेका छैनौं । आधारभूत रुपले बदलाव आएको छैन भने आजका उपलब्धिहरूको जगमा समाजवादी सत्ता निर्माणमा सैद्धान्तिक हिसावले हामी यदि इमान्दार छौं भने एकीकृत भएर अगाडी बढ्न केले रोक्यो ?

त्यो रोक्ने कुरा पनि आत्मकेन्द्रित ब्यक्तिवाद हो भनेर किन नभन्ने ? एकले अर्कालाई आरोप लगाएर हिँड्नु भन्दा आजका हामी विपरितहरु भोलीका एकीकृत वस्तु बन्नलाई वस्तुगत आधार तयार भएको छ । रूपान्तरण भएर जाऔं । आजकै दर्जनौं मुल नेतृत्व वरिपरी दर्जनौंका हिसाबमा रहेका हामी सबै क्रान्तिकारी उत्तराधिकारीहरू बन्न सिकौं आजको आवश्यकता यही हो ।

आफू ठिक अरु बेठिकको भावना त्यागौं र आफू पनि केही बेठिक भएकाले ठिक हुने लाइनमा लाग्यौं भने असम्भव भन्ने कुरा केही छैन र यदि क्रान्ति असम्भव छ भन्ने लाग्छ भने त्यसको कारण आफू नै हो ।

असल र तुलनात्मक रुपमा असल उत्तराधिकारी २१औं शताब्दीमा हामी युवा नै बनेर देखाउन सक्यौं भने स्टालिन र माओले गर्न बाँकी पार्टी र सत्ताका कार्यभारहरू नेपाली भूमिबाट पुरा गरेर पूर्णता प्रदान गर्न सक्ने छौं र अबका समाजवादी सत्ता र कम्युनिष्ट पार्टीहरुमा हुने प्रतिक्रान्ति रोक्न सक्ने छौं ।

सारतः सत्ता र पार्टीमा देखिने आत्मकेन्द्रित व्यक्तिवादी चरित्रले प्रतिगमन र विघटन निम्त्याउने भएकाले नेपालको राजनीतिमा आज सबै विघटन उन्मुख देखिएकाले वृहत केन्द्रिकिरणको आवश्यकता बोध भैरहेको छ । त्यो महाअभियानमा हाम्रो सहभागीता भन्ने मुलमन्त्र भित्र हाम्रो मार्ग निर्देशन सिद्धान्त मालेमावाद अवश्य रहने छ ।

यति ठूलो हानिकारक प्रवृत्ति आत्मकेन्द्रित व्यक्तिवाद जसले संगठन तिरस्कार गर्छ, यसलाई फाल्दा देश र जनतालाई शान्ति र समृद्धि दिलाउन सकिन्छ भने इमान्दारितापूर्वक एकताबद्ध भएर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्