धरान/ भोजपुर वडानन्द–१४ का सङ्गम ठटालले आत्महत्या गर्नुमा वडाध्यक्ष नै प्रमुख भूमिका रहेको भन्दै नागरिक समाजसहित ८ सङ्घ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ‘जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’ भन्दै अध्यक्ष झङ्कबहादुरलाई प्रश्न गरेका छन् । विज्ञप्तिमा ठटा ललाई आत्महत्या गराउन वडाध्यक्ष र प्रहरी भूमिका रहेको भन्दै दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।
मङ्गलवार दलितका सामाजिक संस्था, राजनीतिक दलका दलित भातृ सङ्गठन र नागरिक समाजसहित ८ संघ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन् । नेपाल दलित सङ्घका केन्द्रीय सदस्य रोहित विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य वविन्द्र रसाइली, मुक्ति समाजका केन्द्रीय सदस्य विमल रण पहेली र दुर्गा रण पहेली, दलित उत्थान ग्रामीण समाजका उपाध्यक्ष भुवनकुमार दर्जी, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, दलित विकास समिति गोगनेका सचिव टी.एल विश्वकर्मा र षडानन्द नगरपालिकाका दलित अधिकारकर्मी गोविन्द विकले हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै न्यायको माग गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा सामाजिक विभेद भित्रको जातीय विभेद मानवताको कलङ्क हो । नेपालको संविधान २०७२, जातीय छुवाछुत सजाय ऐन २०६८ तथा छुवाछुत मुक्त राष्ट्र २०६३ को राज्यद्वारा नै उपहास भइरहेको बेला षडानन्द–१४ का अध्यक्ष झङ्कबहादुर रोक्काले पनि त्यस्तै घट्न घटाएको उल्लेख छ । वडाध्यक्ष रोकाको व्यवहारले सुशासन कायम गर्नुपर्ने दायित्व पाएका जनप्रतिनिधि नै शासन व्यवस्थालाई आफ्नो हातमा लिएर सन्तुलित समाजको संरचनालाई ध्वस्त पार्न उद्धत रहेको प्रस्ट देखिएको उल्लेख छ ।
माजव समाजमा दानवीय व्यवहारको उदाहरण अध्यक्ष रेक्का रहेको जनाएको छ । सङ्गमको आत्महत्या घट्नामा प्रहरी भूमिका र प्रहरी कार्यालयको गतिविधिले समाजलाई विचलित बनाउन खेलेको उल्लेख छ । अन्तरजातीय विवाहको न्यायिक परिणाम परिवार विचलन र संलग्न कर्ताको मृत्यु हो ? उमेर नपुगि भएको विवाहका कानुनी उपचारका क्षेत्रलाई निष्क्रिय बनाउन वडाध्यक्ष नै सक्रिय हुने विधि हो ? साथै ‘जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’ भन्दै विज्ञप्तिमा प्रश्न गरिएको छ ।
साथै कानुनलाई हातमा लिने वडाध्यक्षको सुरक्षाकर्मी बोया प्रहरी बनेको जनाएको छ । उनीहरू विज्ञप्ति जारी गर्दै घट्नाका दोषीलाई कारबाहीको दायरा लिई पीडितलाई न्याय दिलाउन माग गरेका छन् । यदि आफ्ना मागलाई सम्बन्धित सरोकारवाला पक्षले कमजोर ठानी पीडित परिवारलाई न्याय नदिएमा थप आन्दोलनमा उत्रने पनि चेतावनी दिएका छन् ।
सङ्गमले १ वर्षको प्रेम पश्चात् षडानन्द नगरपालिका–१३ की श्रेष्ठ थरकी केटीसँग जेठ–१० गते विवाह गरेका थिए । ११ गते वडाध्यक्षले प्रहरी लिई घरबाट जातीय विभेदजन्य गाली गलौच गर्दै प्रहरी कार्यालयमा लगेर बाल विवाह भएकाले छुट्टाई दिएको थियो । १२ गतेदेखि ठटाल बेपत्ता भएका थिए । १४ गते बेलुका नजिकैको जङ्गलमा भुण्डिएको अवस्थामा शव भेटिएको थियो । ठटालको मृत्यु हुनुमा विशेष गरेर वडाध्यक्षको नै भूमिका रहेको मृतकका आफन्त तथा अधिकारकर्मीसहित नागरिक समाजले दाबी गर्दै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।