वासिङ्टन डिसी । अमेरिकाले फाइजर कम्पनीले बनाएको कोरोनाभाइरस विरूद्धको ५० करोड डोज खोप संसारका झन्डै सय मुलुकलाई दिने योजना बनाएको छ ।
स्रोतहरूलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप संसारका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिन लागेको जनाए । अमेरिकाले दिने यो खोप को भ्याक्स अन्तर्गत बाँडिनेछ । राष्ट्रपति जो बाइडेनले बेलायतमा जी ७ सम्मेलनका क्रममा यो अनुदानको घोषणा गर्ने अनुमान गरिएको छ ।
ह्वाइट हाउसका अधिकारीहरूले पछिल्लो चार सातामा फाइजर र बायोएनटेकसँग खोप खरिदको सम्झौता गरेको उल्लेख गरिएको छ । अमेरिकी टेलिभिजन सिएनबिसीले अमेरिकी सरकारले अरू देशलाई अनुदान दिन मोडेर्नासँग पनि खोप खरिदका लागि वार्ता गरिरहेको बताएको छ ।
बेलायत जान एयरफोर्स वन विमान चढ्नुअघि राष्ट्रपति बाइडेनले आफूसँग ग्लोबल भ्याक्सिनका लागि रणनीति भएको संवाददाताहरूसँग बताएका थिए तर उनले उक्त रणनीतिको विस्तृत विवरण खुलाएनन् ।
अमेरिकालाई संसारभरि खोप उपलब्ध गराउन ठूलो दबाब छ । अहिलेसम्म अमेरिकाले आफ्ना ६४ प्रतिशत नागरिकलाई कोरोनाविरूद्धको पहिलो खोप लगाइसकेको छ । अमेरिकाले चीन र रूसको भ्याक्सिन कूटनीतिलाई चुनौती दिन पनि संसारमा आफूले दिने अनुदानको खोपलाई बढाइरहेको छ ।
बाइडेन प्रशासनले यसअघि जुन अन्त्यसम्ममा ८ करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई दिने घोषणा गरिसकेको छ । त्यसको पहिलो लटमा २ करोड ५० लाख डोज कुन कुन क्षेत्रका मुलुकले पाउने भन्ने पनि एकिन भइसकेको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार गत बिहीबार घोषणा भएको २ करोड ५० लाख डोज खोपमध्ये एक करोड ९० लाख डोज कोभ्याक्समार्फत् बाँडिनेछ । कोभ्याक्स विश्वका गरिब तथा अविकसित मुलुकलाई कोरोनाको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरू मिलेर बनाएको अभियान हो । उक्त १ करोड ९० लाख डोज खोप तीन क्षेत्रका देशहरूका लागि बाँडिनेछ ।
जसअनुसार मध्य र दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, कोलोम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अरू क्यारेबियन मुलुकहरूलाई ६० लाख डोज बाँडिनेछ ।
भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ । अफ्रिकन युनियनको सहजीकरणमा झन्डै ५० लाख डोज खोप अफ्रिकी मुलुकहरूबीच बाँडिने ह्वाइटहाउसले जनाएको छ ।
बाँकी ६० लाख डोज खोप भने अमेरिकाले प्राथमिकताका आधारमा सोझै ती मुलुक र क्षेत्रहरूलाई दिनेछ । यो ६० लाख डोज खोप सोझै पाउने मुलुकमा नेपालको नाम समावेश छैन । उक्त खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारीलाई दिइनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।