अबदेखि भौतिक उपस्थितिमा हप्ताको दुई दिन श्रम स्वीकृति दिइने



काठमाडौँ । अबदेखि हरेक हप्ताको दुई दिन भौतिक रूपमा उपस्थित भई श्रम स्वीकृति लिन पाइने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले सूचनामार्फत आज(बुधवार)देखि हरेक आइतबार र बुधवार भौतिक उपस्थितिमा श्रम स्वीकृति दिने जानकारी गराएको हो ।

कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै कार्यालयले भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवा केही समयको लागि बन्द गरेको थियो । र, अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि त्यसको रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा आदेश जारी भएपछि वैदेशिक रोजगार विभागको निर्देशनमा वैदेशिक रोजगार कार्यालय ताहाचलले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य स्थगित गरेको थियो ।

उक्त कार्यालयले गत बुधवार वाट हप्ताको एक दिन श्रम स्वीकृति दिन सुरु गरेको हो । गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको थियो ।

सो अनुसार कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । कतारको दोहा जाने नेपाल एयरलाइन्स र कतार एयरवेजबाट कामदारहरू खाडीका विभिन्न मुलुक गइरहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले व्यवसायी तथा कामदारहरूलाई श्रम स्वीकृति लिने विषयमा केही थप जानकारी लिनु परेमा सङ्घको फेसबुक पेजमा सङ्घको मेलमा सम्पर्क वा म्यासेज गर्न आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्