मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम आज (बिहीबार) प्रस्तुत गर्दै छन् । बागमती प्रदेशको बिहीबार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
कार्य व्यवस्था परामर्श समितिमा छलफल गरी आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख प्रसाईँले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार पारिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । आज सार्वजनिक गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रम मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमण नियन्त्रण र उपचारलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ । आज प्रदेशसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा प्राथमिकतामा राखेको जनाइएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका १ सय १९ वटै स्थानीय तहमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम, एक वडा एक स्वास्थ्य केन्द्र लगायतको कार्यक्रमलाई प्राथमिकता दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।