Banner Second

काठमाडौँ महानगरपालिकामा १८ हजारले लगाए चिनियाँ खाेप भेरोसेल

By Thah Online

June 10, 2021

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम सुरु गरेको हो ।

महानगरपालिकाले दोस्रो पटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन आठ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन नौ हजार ३६६ सहभागी भएका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।

पहिलो दिन चार हजार ४१९ पुरुष र चार हजार ३२८ महिला सहभागी थिए । दोस्रो दिन चार हजार ८९३ पुरुष र चार हजार ९८४ महिला सहभागी भएको पनि विभागले जानकारी दिएको छ । प्रमुख कुँवरले पाँच दिनमा एक लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको उल्लेख गर्दै सो समूहका सबै महानगर क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, यही जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको थियो । खोप कार्यक्रम यही जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।