काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेकी छन्। यसअघि १७ सदस्य रहेको ८ मन्त्रिपरिषद् सदस्य थप्दै २५ जना पुराइएको छ।
यस पटकको नियुक्तिमा पनि राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख गरेको छैन। विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन् भने अन्य मन्त्रालयको जिम्मेवारी एमालेका नेताहरूलाई दिएका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेकी छिन्। नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) रहेका छन् भने आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त भएकी छिन्।
उनीहरूको आजै अपरान्ह ४ बजे शीतल निवासमा शपथग्रहणको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।