काठमाडौँ। सरकारी अस्पतालहरूको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रवार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो।
बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती २० जना नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई मालीगाउँस्थित प्रहरी चौकीमा राखिएको बताइएको छ ।
व्यवसायी दुर्गा प्रसाईँको झापास्थित मेडिकल कलेजलाई गैर कानुनी रूपमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नतामा सम्बन्धन दिन लागेको भन्दै उनीहरू बालुवाटारमा विरोधमा उत्रिएका थिए। उनीहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।