काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी



काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पुनः थप गर्ने तयारी भइरहेको हो ।  काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूबिच निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

कोरोना सङ्क्रमण दर अहिले पनि खासै घट्न नसकेको देखिएकाले निषेधाज्ञा कायमै राख्नुपर्ने सुझाव आएको काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार निषेधाज्ञा थप्दै जाने र क्रमशः खुकुलो पनि पार्दै जानेबारे छलफल भइरहेको छ ।

उपत्यकामा कोरोना सङ्क्रमण दर केही घट्न थाले पनि अवस्था अझै खतरायुक्त नै रहेकोले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबिच छलफल गरेर थप निर्णय लिइने बताइएको छ । यसअघि तपिएको निषेधाज्ञा यही जेठ मसान्तमा सकिनेछ । त्यसपछि पुनः कम्तीमा एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको हो ।

गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञामा किराना पसल, खाद्यान्न, फलफूल, तरकारी, मासु पसल लगायत अत्यावश्यक सेवाका पसलहरू बिहान ९ बजेसम्म खोल्न छुट छ । तर सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरूको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम, पसल र सवारी साधनहरूलाई बन्द गरिएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्