राष्ट्रिय जनमोर्चाका सांसद थापा फेरि पदमुक्त !



गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रो पटक कारबाही गर्दै पदमुक्त गरेको छ ।  बिहीबार ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसे । 

‘शुक्रवार बिहान बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठक बसेर थापालाई कारबाही गरिएको छ । उनलाई सांसद पद र पार्टी सदस्यता नै नरहने गरी कारबाही गरेको पत्र प्रदेशमा पठाइएको छ’ अध्यक्ष केसीको भनाइ छ । 

जनमोर्चाले थापालाई राजनीति दल सम्बन्धी ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रवार संसद् सचिवालयमा दर्ता गरेको छ ।

जनमोर्चाले हृवीप उल्लङ्घन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो । तर, थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालत गएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्