खोलामा ठेकेदारको मनपरी, मापदण्ड विपरित उत्खनन



गुल्मी २८ जेठ, गुल्मी जिल्लाका खोला र नदीहरूमा मापदण्ड विपरीत डोजरसहितका ठुला –ठुला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । असार महिना लागेपछि खोला तथा नदीमा उत्खनन गर्न नपाइने हुनाले यति वेला जिल्लाका सबैजसो खोला तथा नदीमा मापदण्ड विपरीत डोजरसहितका ठुला –ठुला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको हो ।

पछिल्लो एक सातादेखि गुल्मीका सबै खोला र नदीमा डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती देख्न सकिन्छ । स्थानीय सरकारले लगाएको टेण्डरमा भएको सहमतिलाई लत्ताउँदै यहाँका निमार्ण व्यवसायीहरूले मापदण्ड विपरीत डुला मेसिनहरू प्रयोग गरी खोला उत्खनन गरेका हुन । यति वेला जिल्लाका खोलामा ठेकेदारहरूको मनपरी र दादागिरी नै चलेको छ ।

स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनले सामान्य अनुगमनसमेत नगर्दा ठेकेदारहरूको मनपरी चलेको हो । मापदण्ड विपरित खुलेआम दोहन भएका खोला नदिको वाटे हुँदै जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू ओहोरदोहोर गर्दा उनीहरूले देखेर पनि नदेखेको जस्तो गरेर हिँड्ने गरेको पाइएको छ ।

कानुनी हिसाबले नदीजन्य पदार्थ निकाल्न मेसिनहरू प्रयोग गर्न पाइँदैन तर कानुन हातमा लिएर यहाँ नदीजन्य पदार्थहरूको खुले हाम दोहन हुँदा समेत स्थानीय प्रशासन, स्थानीय सरकार मौन रहेको छ । अझ कतिपय स्थानीय तहका प्रमुखहरूले त ठेकेदारको बचाउ समेत गदै हिँडेका छन् । मापदण्ड विपरित खोला उत्खननको प्रमुख मारमा जिल्लाको छल्दी खोला रहेको छ ।

छल्दी खोलामा दैनिक अवैध एक्साभेटरले उत्खनन गर्ने र सयौँ टिप्परहरुले नदीजन्य पर्दाथ ओसारपसार गर्ने गरेका छन् । स्थानीय र सरोकारवालाहरूले कानुन विपरीत उत्खनन गर्दा अवरोध गर्न खोजे पनि ठेकेदारहरूले लालपुर्जा लिएर आइजा भनेर धम्की समेत दिने गरेको स्थानीयहरू बताउँछन् । इस्मा ३ छल्दी का चुरा मुखियाका अनुसार आफूले पटक पटक यसरी गहिरो बनाएर गिट्टी बालुवा ननिकाल्नुस् भन्दा ठेकेदारले आफैलाई धम्काएको बताए ।

यहाँ अन्धाधुन्ध जता मन लाग्यो त्यतै एक्साभेटरले खनेका छन् मुखियाले भने“हामीले अनुरोध गर्दा उल्टै तेरो लालपुर्जा लिएर आइजा भनेर भन्छन् ।” अर्का स्थानीय खिमानन्द खनालले पनि खोला धेरै तलसम्म खनेकाले खेतमा पानी लैजान नमिल्ने गुनासो गरे । कुलो र खेत माथि छ उनी भन्छन्“ अव खोला खनेर पानी तल गयो कसरी पानी लगाएर खेतीपाती गर्न हो ।”

गिट्टी बालुवा निकाल्नेलाई यसरी तलसम्म गहिरो नवनाउनुस भन्दा गाउँपालिकाले ठेक्का लगाएर हो भनेर भन्छन् हामी त मारमा परियो हजुर भन्दै उनले गुनासो गरे । वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार उत्खनन भइरहेको क्षेत्रमा ० दशमलव ५ मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्ने भए पनि यहाँ भने ४÷५ मिटर गहिराई सम्म उत्खनन गरिएको छ ।

अहिले सरकारी निकायको अनुगमन अभावमा खोला ४÷५ मिटरसम्म गहिराइमा पुगेको छ । कुनै दुरी नै कायम नगरी खोलाभर नै ठेकेदारले नदीजन्य पदार्थ निकाल्ने गरेका छन् । स्थानीय तहका प्रतिनिधि र प्रहरी भने खोला सुरक्षामा कतै देखिँदैनन् । आयोजनाको नाममा वातावरणीय प्रभाव मूल्याङ्कन परीक्षणलाई मिचेर मापदण्डभन्दा ५÷७ गुणा गहिराइमा पुगेर हजारौँ घन मिटरको परिमाणमा निकासी भइरहेको छ ।

आयोजनाका नाममा उत्खनन गरिएको ढुङ्गा र गिट्टी ठुलो परिणाममा स्थानीय क्रेसर उद्योगमा जाने गरेको छ । खोलाका गिट्टी बालुवा थाले माले विमानस्थल, तम्घास रेसुङ्गा सडक, रुद्र वेणी, जोहाङ्ग,मजुवा,वामीटक्सार सडक,रिडी खज्याङ्ग सडक, सेउघा वरवोरवोट सडक लगायतका आयोजनाका नाममा उत्खनन गर्ने र अवैध रुपमा सञ्चालनमा रहेका क्रेसरमा डम्पिङ गर्ने भइरहेको छ ।

इस्मा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिती सयोजक विमला खत्रीका अनुसार वातावरणीय परीक्षण र मुल्याङकन एकातिर उत्खनन अकरैतिर भएको बत्ताइन । गाउँपालिकाले विभिन्न स्थानमा तोकिएको मापदण्ड अनुसार नदीजन्य सामग्री निकाल्न वातावरणीय प्रभाव मूल्याङ्कन गरेर ठेक्का लगाएको हौ उनले भनिन“ तर हामीले तोकेको मापदण्डभन्दा विपरीत ठेकदारहरूले मनपरी उत्खनन गरेपछि रोक्ने प्रयास गरेका छौ ।”

अहिले इस्माको छल्दी खोलामा मापदण्ड विपरितका आधा दर्जन डोजर र एक्साभेटरले ढुङ्गा, गिट्टी र बालुवा नियमित निकाल्ने गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सबै प्रक्रिया पूरा गरेर मात्र उत्खनन भइरहेको बताए । सबै स्थानीय तहहरूले मापदण्ड पूरा गरेर ठेक्कामार्फत नै निकासी गरेका छन् उनले भने“स्थानीय तहले नै निरन्तर अनुगमन र खबरदारी गर्नुपर्ने हो ।”

उनका अनुसार जिल्लामा सञ्चालनमा रहेका योजनाहरू सम्पन्न गर्नका लागि नदीजन्य उत्खनन गर्न बनेको मापदण्डले अप्ठ्यारो पारेको बताए । यस्तै धुर कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले गाउँका विकास गर्दा स्थानीय कच्चा पदार्थ प्रयोग नै मुख्य भएको बताए । गुल्मीको विकास गर्नका लागि पाल्पा र बागलुङबाट गिट्टी बालुवा ल्याउन सम्भव नभएको भन्दै सङ्घीय कानुन नै व्यावहारिक नभएको उनको तर्क छ ।

ठुला ठुला जिल्ला र तराइलाई मात्र लक्षित गरी कानुन बनाएकाले पहाडमा समस्या भएको उनले बताए । मापदण्ड विपरित नदी तथा खोलहरू उत्खनन भएको विरोध सबैतिरबाट आउन थालेपछि प्रहरी प्रशासन पनि अहिले जागेको छ । जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले मापदण्ड विपरीत ठुला–ठुला मेसिनहरू प्रयोग गरेर गिट्टी बालुवा उत्खनन गर्न नदिने बताए ।

अव खोलामा प्रहरीको ड्युटी नै राख्छौ उनले भने“केही ठुला मेसिनहरूलाई कार वाहीको दायरामा राखिएको समेत छ ।” प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार पनि नियम विपरित नदीजन्य पदार्थ उत्खनन नगर्न आग्रह गर्दा पनि अटेर गरेकाले आवश्यक कारबाही गर्न प्रक्रिया अगाडि बढाउने बत्ताइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्