राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य थापा पुनः पदमुक्त



पोखरा। राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पुनः पदमुक्त भएका छन्। बागलुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद थापा गण्डकी प्रदेशसभा सदस्यबाट दोस्रो पटक पदमुक्त भएका हुन्। गण्डकी प्रदेशसभाको शुक्रवार बसेको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चाले थापालाई पदमुक्त गर्न सिफारिस गरेका आधारमा पदमुक्त भएको जानकारी गराएका थिए।

यसअघि जेठ २० गते पनि जनमोर्चाले प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो। त्यस विरुद्ध थापा सर्वोच्च अदालतमा गए। सर्वोच्च अदालतले उनको पद थमौती गरिदिएको थियो। थापाले दलको ह्विप उल्लङ्घन गरेको वा दल अदलबदल गरेको नदेखिएकाले पदमुक्त गर्ने निर्णय लागू नगर्न सर्वोच्चले आदेश दिएको थियो। तर यस पटक भने जनमोर्चाले प्रदेशसभा सदस्य थापाले दलको ह्विप नमानेको स्पष्ट पार्दै पदबाट हटाउन सभामुखलाई सिफारिस गरेको हो।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार विश्वासको मत माग्दा जनमोर्चाले विपक्षमा मत हाल्न आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो। तर थापा ह्विप उल्लङ्घन गर्दै तटस्थ बसेका थिए। थापा पदमुक्त भएसँगै अब गण्डकी प्रदेशसभा ५९ सदस्यीय भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्