महाधिवेशनबारे निर्णय लिन नेपाली कांग्रेसले बोलायो बैठक



काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।

कोरोना भाइरसको संक्रमण तीव्र हुँदा महाधिवेशनको सम्पूर्ण कार्यातालिका प्रभावित भएपछि छलफलका लागि बैठक बोलाएको हो। पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको कांग्रेसले आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ।

त्यसअनुसार कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण महाधिवेशन गर्न असहज बन्दै गएको छ। तर संस्थापन इतर पक्षले सभापति देउवाले पार्टी महाधिवेशन गर्न नचाहेको भन्दै दबाब बढाएका छन्।

देउवाले पनि विज्ञप्ति जारी गरेर पार्टी महाधिवेशन भदौमै गर्ने जनाएका थिए। महाधिवेशन गर्न दबाब दिने उद्देश्यले केही युवा नेताले शुक्रबार नेता रामचन्द्र पौडेललाई भेटेका छन्। उनीहरूले यसअघि सभापति देउवालाई पनि भेटेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्