डिभी २०२१ बारे अमेरिकी दूतावासबाट ५ प्रश्नोत्तर सार्वजनिक: डाइ भर्सिटी भिसा अन्तर्वार्ता कहिलेबाट ?



अमेरिकी दूतावास काठमाडौँले डिभी २०२१ का बारेमा आज प्रश्नोत्तर सार्वजनिक गरेको छ । डिभी २०२१ का विजेताहरूले भिसा पाउन नसकेको अवस्थामा विभिन्न ५ प्रश्नोत्तर सार्वजनिक गरिएको हो । ती प्रश्नोत्तर जस्ताको जस्तै ।

प्रश्न : अमेरिकी दूतावास, काठमाडौँले सन् २०२१ को डाइ भर्सिटी भिसा अन्तर्वार्ताका लागि अपोइन्टमेन्टहरू कहिलेदेखि सुरु गर्छ ?

उत्तर : नेपाल सरकारको निषेधाज्ञा काठमाडौँमा जारी रहेसम्म अमेरिकी दूतावास सम्पूर्ण नियमित सेवाका लागि बन्द रहनेछ । हाम्रो कार्यालय पुनः खुला हुनसक्ने अवस्थामा पुगेपछि र नेपाल सरकारले नेपाली नागरिकहरूलाई गैर-आकस्मिक सेवाका लागि हिँडडुल गर्ने अनुमति दिएपछि हामी आफ्ना कर्मचारी, आवेदक र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिँदै आप्रवासी भिसा आवेदनसम्बन्धी सञ्चित रहन गएको काममाथिको कार्यवाही सुरु गर्नेछौँ । निषेधाज्ञाका कारण अपोइन्टमेन्ट रद्द भएका आप्रवासी भिसाका आवेदकहरूलाई हामी प्राथमिकता दिनेछौँ र अमेरिकी विदेश मन्त्रालयले स्थापित गरेका निर्देशनहरूको पालना गर्दै आप्रवासी भिसासम्बन्धी सेवाहरू पुनः चालु गर्नेछौँ ।

अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐन (आईएनए) मा व्यक्त गरिएअनुरूप अमेरिकाको अध्यागमन नीति र कानुनअन्तर्गत पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिने कार्यले प्रधानता प्राप्त गर्दछ । अमेरिकी नागरिकका नजिकका आफन्त भिसा आवेदक र K-1 मङ्गेतर र त्यसपछि फेमिली प्रेफरेन्स आप्रवासी भिसा आवेदकहरूलाई प्राथमिकतामा राख्ने नीति अमेरिकी विदेश मन्त्रालयले अनिवार्य रूपमा अवलम्बन गर्नु पर्दछ भन्ने कुरा कङ्ग्रेसले निर्दिष्ट रूपमा व्यवस्था गरेको छ ।

कोभिड-१९ का कारण दूतावासको सञ्चालन क्षमतामा आएको कमीका कारण गत वर्ष सम्पूर्ण भिसा निवेदक तथा आवेदकहरूले बेहोर्नु परेको तनाव र कठिनाइलाई हामी स्वीकार गर्दछौँ । स्वास्थ्य तथा सुरक्षितताको संरक्षण गर्न र महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको प्रयत्नको समर्थनमा स्थानीय मापदण्डहरू पालना गर्नका लागि हामीले उपायहरू अपनाउँदै आइरहेका छौँ । साथै, भ्रमण वा भिसा जारी गर्नका लागि कोभिडसँग सम्बन्धित सीमितता भएकाले समेत यस्तो व्यवस्था गर्नु परेको हो ।

प्रश्न : २०२१ को डाइभर्सिटी भिसाका आवेदनहरूउपर कार्यवाही चलाउनका लागि के-कस्ता प्रयत्नहरू भइरहेका छन् ?

उत्तर : अमेरिकी विदेश मन्त्रालयले कोभिड-१९ को महामारीका कारण कार्यसञ्चालनमा आएका गम्भीर अवरोध र सञ्चित हुन गएको कामका बाबजुद परिवारमा आधारित भिसाका केस जस्ता भिसा प्राथमिकताहरूसँग एकरूप हुने गरी डाइभर्सिटी भिसाका आवेदनहरूमाथि कार्यवाही चलाउन हर प्रयत्न गरिरहेको छ । यद्यपि, जारी हुने डाइभर्सिटी भिसाहरूको सङ्ख्याले कोभिड-१९ का कारण आर्थिक वर्ष सन् २०२१ मा वैधानिक रूपमा व्यवस्था गरिएको उच्च सीमा भने नछुन सक्छ ।

विश्वव्यापी अवस्था विकसित हुँदै जाँदा अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्यसम्बन्धी निकायहरूबाट जारी निर्देशन र अमेरिका भ्रमणमाथिको चालु प्रतिबन्धसँग एकरूप हुने गरी विश्वभर कुशलतापूर्वक भिसा आवेदनहरूमाथि कार्यवाही चलाउने उपायहरूको निरन्तर खोजी गरिरहेको छ ।

प्रश्न : सेप्टेम्बर ३० भित्र अन्तर्वार्ता दिन असमर्थ डिभी-२०२१ का आवेदकहरूलाई डिभी-२०२२ का लागि विचार गरिनेछ ?

उत्तर : डिभी-२०२१ का लागि छनोट भएका व्यक्तिहरूको अन्तर्वार्ता आर्थिक वर्ष २०२१ मा मात्र लिन सकिनेछ, जसको अन्त्य सेप्टेम्बर ३० मा हुँदैछ । यदि ती आवेदकहरू डाइभर्सिटी भिसा कार्यक्रमका लागि योग्य देशका नागरिक हुन् भने त्यस्ता आवेदकहरूले भविष्यमा डाइभर्सिटी भिसा कार्यक्रमका लागि पुनः आवेदन दिन सक्नेछन् । छनोट क्रमरहित (र्‍यान्डम) प्रकृतिको हुन्छ र यस कार्यक्रमका लागि कोही पहिले नै छनोट भइसकेको छ भने पनि त्यस कुराले भविष्यमा गरिने आवेदनहरूलाई असर गर्दैन ।

प्रश्न : भिसाको काम सञ्चित भएका कारण डिभी-२०२१ का लागि छनोट भएका धेरै व्यक्तिहरूको अन्तर्वार्ता हुन नसकेका बेला डिभी-२०२२ को छनोट प्रक्रियालाई तपाईँहरूले किन अगाडि बढाउनुभएको हो ?

उत्तर : डाइभर्सिटी भिसाको स्थापना कानुनद्वारा गरिएको हो । डिभी कार्यक्रममा कुनै परिवर्तन भएको छैन । आर्थिक वर्ष २०२१ को अन्त्यसम्म स्रोतसाधन र स्थानीय अवस्थाले साथ दिएसम्म हामी डिभी-२०२१ का आवेदकहरूको अन्तर्वार्ता लिने कार्यलाई निरन्तरता दिनेछौँ । आगामी आर्थिक वर्षमा डिभी-२०२१ को काम डिभी-२०२२ का आवेदनहरूमाथिको कार्यवाहीसँग जुध्ने छैन ।

प्रश्न : दूतावासले भिसासम्बन्धी काम कहिलेबाट सुरु गर्छ ?

उत्तर : नेपाल सरकारले काठमाडौँमा निषेधाज्ञा हटाउनासाथ र नेपाल सरकारबाट आवेदकहरूले अन्तर्वार्ता स्थलसम्म पुग्नका लागि अनुमति प्राप्त गर्नासाथ र हामीले कार्यालय पुनः खोल्नसक्ने अवस्था बनेपछि काठमाडौँस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी कामको पुनर्थालनी गर्नेछ । पुनः खुला हुनसक्ने अवस्थामा पुगेपछि हामी आफ्ना कर्मचारी, आवेदक र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिँदै आप्रवासी भिसा आवेदनसम्बन्धी सञ्चित भएको काममाथिको कार्यवाही सुरु गर्नेछौँ ।

निषेधाज्ञाका कारण अपोइन्टमेन्ट रद्द भएका आप्रवासी भिसाका आवेदकहरूलाई हामी प्राथमिकता दिनेछौँ र अमेरिकी विदेश मन्त्रालयले स्थापित गरेका निर्देशनहरूको पालना गर्दै आप्रवासी भिसासम्बन्धी सेवाहरू पुनः चालु गर्नेछौँ । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्