krishna chandra

Banner First

गण्डकीका मुख्यमन्त्री पोखरेलको राजनीतिक जीवन

By थाहा अनलाइन

June 12, 2021

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज निर्वाचित भएका नेपाली काँग्रेसका नेता कृष्णचन्द्र पोखरेल नेपाली गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसको संसदीय दलका नेता हुन् ।

उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशको नवलपरासी पूर्व १ (क) बाट निर्वाचित भएका थिए ।

७१ वर्षीय नेता पोखरेलको राजनीतिक पृष्ठभूमिकै पनि राजनीतिक नै रहेका छ । उनका बुवा प्रजातन्त्र सेनानी गोवद्र्धन शर्मा हुन् । गोवद्र्धन शर्मा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि थिए । पोखरेल २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् ।

उनको विद्यार्थी राजनीति तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शिरमा राखेर राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागी नेताको रुपमा चिनिन्छन् । २०२८ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य बनेका पोखरेल आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका छन् ।

नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य समेत बनेका पोखरेल २ विषयमा स्नातक तहसम्म पढेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।

प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगेका थिए । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किएपछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।

२०२२ देखि २०२८ सालसम्म उनले पिता स्वयम गोवद्र्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रेको फलाँटे, तनहुँको दमौली र तनहुँको थर्पुका विद्यालयहरुमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाएका थिए ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषदको निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालमा पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा परित्याग गरेका थिए ।

२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना जेलजीवन बिताएका थिए । त्यसअघि २०३७ सालको जनमतसंग्रहको क्रममा ८ महिना उनी कास्की कारागारमै बसेका थिए । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै २ महिना जेल चलान भए ।

देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहमा नेता पोखरेल नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका थिए । सत्याग्रहमा सरिक भएको आरोप उनी कपिलवस्तु कारागारमा १ वर्ष जेल चलान भएका थिए ।

नेता पोखरेल २०४६ सालको जनआन्दोलनमा पाल्पामा ९ महिना जेल बसेका थिए । २०४८ को अधिवेशनपछि उनी लगातार ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति बनेका थिए ।

२०४८ सालको आम निर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । काँग्रेसको १२औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । २०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए ।

संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट निर्वाचनमा होमिएका थिए । निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेशसभा सदस्य बन्न सफल भएका थिए ।

प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका १५ सांसद छन् । एमाले–माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । उनी प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिएका थिए । नेता पोखरेल नेपाल बार एशोसिएसनका सदस्य समेत रहेका छन् । जनपक्षीय कानुनी सेवामा समर्पित उनको प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू जेलबाट छुटेका थिए ।